सांकेतिक भाषाको प्रयोगमार्फत युवालाई होटल तालिम

काठमाडाैं, पुस २३ : एशोसियशन अफ नेपाल आकीद्वारा सञ्चालित ‘कोथिना मिठो छ’ संस्था लाजिम्पाटले सुस्त श्रवण शक्ति भएका व्यक्तिलाई सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको छ।
उक्त संस्थाले द ल्याप्रोसी मिसनअन्तर्गत फाउण्ड परियोजनासँगको सहकार्यमा उनीहरुको क्षमता अभिवृद्धि एवं रोजगारी प्रदानका लागि सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको हो। कोथिना मिठो छ संस्थाका अध्यक्ष देवेन्द्र पोखरेलले शारीरिक रुपमा अशक्त भएका युवालाई आत्मानिर्भर बनाउनका लागि सांकेतिक भाषाको माध्यमबाट २५ जनालाई होटल तालिम प्रदान गरिएको जानकारी दिए।
उनीहरुलाई सीप सिकाएर विभिन्न होटल तथा रेष्टुरेण्टमा पठाइने अध्यक्ष पोखरेलको भनाइ छ। फाउण्ड परियोजनाकी दोभासे यशोदा गुरुङले युवालाई सीप सिकाएर रोजगार प्रदान गर्ने उद्देश्यले बेकरीसम्बन्धी होटल तालिम प्रदान गरिएको जानकारी दिए। सीकेको सीपलाई प्रयोग गर्नका लागि आफैँलाई होटल, रेष्टुरेण्ट तथा बेकरी खोल्न प्रोत्साहन गर्ने गुरुङको भनाइ छ।
एशोसिएशन अफ नेपाल आकीद्वारा सन् २०१२ मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित उक्त संस्थमले हालसम्म तीन हजारभन्दा बढी युवालाई होटल तालिम प्रदान गरिसकेको छ।












