Kathmandu Press

एक सातामै तीन गुणा बढे कोरोना संक्रमित, सतर्क रहन सुझाव

एक सातामा कोरोना संक्रमितको संख्यामा आएको वृद्धिलाई कोरोनाको तेस्रो लहरको संकेतको रूपमा पनि लिन सकिने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
एक सातामै तीन गुणा बढे कोरोना संक्रमित, सतर्क रहन सुझाव

काठमाडौं, पुस २३ : एक सातायता कोरोना संक्रमितको संख्या क्रमशः बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत शनिबारको तुलनामा आज (शुक्रबार) सम्म एक सातामै कोरोना संक्रमितको संख्या तीन गुणा वृद्धि भएको छ। 

गत शनिबार देशभरिमा ३८२ जनामा कोरोना देखिए पनि आइतबार त्यसभन्दा कम २१६ र सोमबार ३२६ जनामा संक्रमण पुष्टि भएको थियो। मंगलबारयता भने निरन्तर संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ। मंगलबार नेपालमा ३९३ जनामा संक्रमण पुष्टि हुँदा बुधबार ४३५ र बिहीबार ५४० जना संक्रमित थपिएका थिए। 

Hardik ivf

साथै मन्त्रालयले शुक्रबार नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन सचेत गराएको छ। यसबाट कोरोना संक्रमणको जोखिम बढिरहेको भनेर बुझ्नुपर्ने विज्ञहरू बताउँछन्। 

एक सातामा कोरोना संक्रमितको संख्यामा आएको वृद्धिलाई कोरोनाको तेस्रो लहरको संकेतको रूपमा पनि लिन सकिने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

‘अहिले जुन हिसाबको संक्रमितको संख्या वृद्धि भएको छ, त्यसलाई तेस्रो लहरको संकेतका रूपमा पनि लिन सकिन्छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘तर संक्रमितको संख्यामा वृद्धि भए पनि अस्पतालमा बिरामीको त्यति धेरै चाप भने नदेखिएको हुँदा अहिले नै यसको असरबारे स्पष्ट जानकारी दिन सकिँदैन।’

कोभिड–१९ संक्रमितमध्ये २२ प्रतिशतलाई ओमिक्रोन भएको हुन सक्ने मन्त्रालयले अनुमान गरेको छ। यस्तै अहिले संक्रमितको संख्यामा वृद्धि हुनुमा पनि केही हदसम्म ओमिक्रोनले भूमिका खेलेका डा. पुन बताउँछन्।

‘डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनको प्रभाव अलि कम देखिए पनि सबैले सावधानी अपनाउन जरुरी छ,’ उनले भने। कोरोना संक्रमण फेरि पनि समुदायमा फैलिसकेको हुन सक्न आकलन उनले गरे ।  

यस्तै, कोभिड–१९ संक्रमणलाई फैलन नदिन अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक अक्सिजन लगायत अन्य सामाग्रीको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन्। 

साथै सीमा नाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पजिटिभ आएका केसहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।


 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्