Kathmandu Press

बहिरा महिलामाथि यौनजन्य हिंसा बढी हुने, पुरुषलाई अंश नदिइने

सात–आठ महिनाअघि काभ्रेकी एक बहिरा महिला महासंघको सम्पर्कमा आइन् । बहिरा भएकै कारण उनी परिवारको हेलाहोँचोमा परेकी थिइन् । यतिसम्म कि परिवारले उनलाई बहिराको परिचयपत्र पनि बनाइदिएको रहेनछ । महासंघले भनेपछि परिवारले बहिराको परिचयपत्र त बनाइदियो तर सरकारले दिने रकम परिवारकै सदस्यले प्रयोग गर्न थाले।
बहिरा महिलामाथि यौनजन्य हिंसा बढी हुने, पुरुषलाई अंश नदिइने

काठमाडौं, पुस २३ : आइतबार (पुस १८ गते) जनकपुरकी एक बहिरा युवती भृकुटीमण्डपस्थित राष्ट्रिय बहिरा महासंघ आइन् । उनलाई एक सुन्न र बोल्न सक्ने साथीले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरी हिंसा गरेका रहेछन् । महासंघकी वरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्ले भन्छिन्, ‘उनको समस्या सुनेपछि हामीले उनका साथीलाई फोन गरेर सम्झायौँ ।’ 

६ महिनाअगाडि महोत्तरीमा एक बहिरा महिला बलात्कृत भइन् । गाउँकै मानिसबाट बलात्कृत भएको महासंघलाई खबर आयो । उनलाई महोत्तरी जिल्लाकै बहिरा संघसँग सहकार्य गरेर न्यायका लागि सहज बनाएको उपाध्यक्ष वाग्ले बताउँछिन् । ‘उनको न्यायका लागि बहिरा संघले सहजीकरण गरिरहेको छ,’ वाग्ले भन्छिन्, ‘हामी यो मुद्दालाई प्रहरीसमक्ष पु¥याइदिने माध्यम बन्यौँ ।’ 

डेढ महिनाअघि कागेश्वरी मनोहरा नगरपालिकाका एक अन्तर्जातीय बहिरा दम्पती महासंघ आए । मजदुरीबाट जीविका गर्दै आएका आफूहरूलाई बहिरा भएकै कारण दाजुभाइले अंश नदिएको उनीहरूको गुनासो थियो । महासंघले उनीहरूको परिवारलाई सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा नआएको उपाध्यक्ष वाग्ले बताउँछिन् । 

Hardik ivf

उपाध्यक्ष वाग्लेका अनुसार, आफू विभिन्न हिंसा वा विभेदमा परेको भन्दै बहिरा महिला तथा पुरुष महासंघको कार्यालयमा आइरहन्छन् । ‘वर्षमा त्यस्तै १०–१२ मात्रै बहिरा हिंसाका गुनासो आउँछन्,’ उनी भन्छिन्, ‘धेरै बहिरालाई उजुरी वा गुनासो गर्ने निकाय नै थाहा छैन । त्यसैले सबै बहिरालाई समेट्न र हकअधिकार दिलाउन प्रत्येक जिल्लामा बहिरा संघ बनाएका छौँ । बहिरा संघमार्फत सांकेतिक भाषा र सक्षम हुन सिकाउँछौँ ।’

उनका अनुसार, अहिलेसम्म ५३ वटा जिल्लामा बहिरा संघ छन् । बहिरा हिंसाका घटना उपत्यकामा भन्दा बाहिरी जिल्लामा बढी हुने गर्छ । 

सात–आठ महिनाअघि काभ्रेकी एक बहिरा महिला महासंघको सम्पर्कमा आइन् । बहिरा भएकै कारण उनी परिवारको हेलाहोँचोमा परेकी थिइन् । यतिसम्म कि परिवारले उनलाई बहिराको परिचयपत्र पनि बनाइदिएको रहेनछ । ‘महासंघले भनेपछि परिवारले बहिराको परिचयपत्र त बनाइदियो तर सरकारले दिने रकम परिवारकै सदस्यले प्रयोग गर्न थाले,’ उपाध्यक्ष वाग्ले भन्छिन्, ‘महासंघका अध्यक्ष केपी अधिकारीसहित एक टिम उनको घरमा पुग्यो । र, उनको परिवारलाई सम्झायो ।’  

बहिरा महिला मात्र होइन, पुरुष पनि हिंसामा परिरहेको उपाध्यक्ष वाग्ले बताउँछिन् । उनका अनुसार, धेरैजसो पुरुष परिवारबाट अंश नपाएको र परिवारबाट हेलामा परेको गुनासो लिएर महासंघ आउँछन् । 

हिंसामा परेका बहिरा व्यक्तिको तथ्यांक भने कतै राखेको पाइँदैन । राष्ट्रिय बहिरा महासंघ, राष्ट्रिय मानव अधिकार आयोग र प्रहरी कार्यालयले पनि हिंसामा परेका बहिरा व्यक्तिको तथ्यांक राखेको छैन । मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल भन्छन्, ‘त्यसरी बहिरा व्यक्तिमाथि हुने हिंसाको मात्रै छुट्टै तथ्यांक राखिँदैन ।’

सांकेतिक भाषा नआउँदा थप पीडा

वरिष्ठ उपाध्यक्ष वाग्ले पनि सुन्न सक्दिनन् । उनले सांकेतिक भाषामा भनेका कुरा हामीलाई दोभासे दिनेश श्रेष्ठले नेपालीमा अनुवाद गरेका हुन् ।

उपाध्यक्ष वाग्लेका अनुसार, हिंसामा परेका बहिरा महिला तथा पुरुषलाई न्याय दिलाउन स्वच्छ निकायसँगै दोभासे चाहिन्छ । महासंघले हिंसामा परेका बहिरा महिला–पुरुषको सहयोगका लागि दोभासे उपलब्ध गराउँछ । ‘पीडितले नै सांकेतिक भाषा जानेको छैन भने हामीले सिकाउँछौँ । त्यसपछि आफूमाथि भएको हिंसाबारे बोल्न उनीहरूलाई प्रेरित गर्छौं,’ उपाध्यक्ष वाग्ले भन्छिन्, ‘बहिरा महिला तथा पुरुष आफू हिंसामा परे कहाँ गएर भन्नेबारे अलमलमा पर्छन् ।’

उनका अनुसार, हिंसा परेका कति बहिरा व्यक्तिले सांकेतिक भाषामा आफ्ना कुरा व्यक्त गर्न नसक्ने र आफ्ना कुरा व्यक्त गर्न सके पनि प्रशासनले नबुझ्ने अवस्था छ । ‘पहिले बहिरा व्यक्तिले नै सांकेतिक भाषा बुझ्नुप¥यो । अनि, उजुरी गर्ने निकायमा दोभासेको व्यवस्था हुनुप¥यो,’ उपाध्यक्ष वाग्ले भन्छिन्, ‘त्यसैले हामीले बहिरालाई सर्वप्रथम आवाज उठाउन सिकाइरहेका छौँ ।’

‘सिर्जनशील बहिरा महिलाका हातहरू संस्था’को कार्यसमिति सदस्य पूजा प्रधानका अनुसार, बोल्न र सुन्न सक्दैनन् भनेर देशभर नै बहिरा महिला विभिन्न हिंसामा पर्ने गरेका छन् । लामो समयदेखि बहिरा महिलाका लागि काम गरेकी प्रधान भन्छिन्, ‘बोल्न सक्दैनन् भनी बहिरा महिलामाथि जे गर्दा पनि हुन्छ भन्ने सोच राखेको पाइन्छ । थुप्रै बहिरा महिला यौनजन्य हिंसामा परेका छन् ।’ 

प्रधान पनि बाल्यकालदेखि नै सुन्न सक्दिनन् । उनले भनेका कुरा दोभासे दिनेश श्रेष्ठले अनुवाद गरेका हुन् । 

प्रधानका अनुसार, अधिकांश पीडित बहिरा महिलालाई सांकेतिक भाषा आउँदैन । त्यसैले उनीहरूले आफूमाथि भएका घटना अरुलाई बताउन सक्दैनन् । त्यस्ता व्यक्तिलाई आफू आबद्ध संस्थाले सहयोग गर्दै आएको प्रधान बताउँछिन् । ‘हामीले उमेर कटेका महिला र घरपरिवारबाट हेलामा परेका, स्कुल जान नपाएकालाई तालिम दिन्छौँ,’ उनी भन्छिन्, ‘कुनै रोजगारी दिलाउन पनि पहल गर्छौं । बोल्न वा सुन्न नसक्ने भन्दैमा केही गर्न नसक्ने भन्ने होइन ।’ 

दुई वर्षमा ८५ लाख बजेट 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बहिरा महासंघलाई पछिल्ला दुई वर्षमा ८५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको उपाध्यक्ष वाग्ले बताउँछिन् । ‘मन्त्रालयले आर्थिक वर्ष ०७७÷७८ मा ४५ लाख र ०७८÷७९ का लागि ४० लाख बजेट उपलब्ध गराएको थियो,’ उनी भन्छिन्, ‘गत आर्थिक वर्षको बजेटबाट ६० बहिरा व्यक्तिलाई निःशुल्क सांकेतिक भाषा सिकाउने योजना थियो, कोभिड–१९ का कारण सकिएन ।’ 

उनका अनुसार, मन्त्रालयले उपलब्ध गराएको बजेट महासंघले बहिरा महिला तथा पुरुषमाथि हुने हिंसा कम गर्न, सचेतना बढाउन, क्षमता विकासको तालिम दिन लगायत शीर्षकमा खर्च गर्छ । 
 

प्रकाशित मिति: ११:३४ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्