Kathmandu Press

चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

चितवन, पुस २२ : जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन्। सरकारी र निजी...
चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

चितवन, पुस २२ : जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन्। 

सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो । यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नौ महिनाका अवधिमा एक सय जनाको मुटु, रक्तनदी र फोक्सोको शल्यक्रिया गरेको कलेजले जनाएको छ। अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) विभागमार्फत् यी शल्यक्रिया भएका हुन्। गत वैशाखदेखि यो सेवा सुरु गरिएको हो।

Hardik ivf

विभागका प्रमुख कार्डियोथोरासिक तथा भाष्कुलर सर्जन डा अनिल आचार्यले मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्तनलीका जटिलदेखि साधारणसम्मका शल्यक्रिया, फोक्सोको शल्यक्रिया गरिएको जानकारी दिए । उनले जटिल प्रकारका शल्यक्रिया गरिएको उदाहरण दिँदै मुटुको खुम्चिने शक्ति निकै कम भएका व्यक्तिको शल्यक्रिया गरी स्वस्थ बनाइएको बताए।
 
उनले भने, ‘मुटुको खुम्चिने शक्ति कम भएकोमा दुई वटा भाग फेर्ने र एउटा उपचार गर्ने काम सफलतापूर्वक गरियो ।’ हालसम्म गरिएका सबै शल्यक्रिया सफल भएको उनको भनाइ छ । विभागमा डा आचार्यसँगै डा अल्का सिंहले यो विभाग अन्तर्गतका शल्यक्रिया गर्दै आएका छन्।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सिटिभिएस विभाग अन्तर्गत सबै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाउँदै विभागका चिकित्सक, नर्सलगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे। उनले भने,‘यो टिमले छोटो समयमा सफलतापूर्वक एक सय शल्यक्रिया गरेको छ।’ 

उनले चितवनमा सिटिभिएस अन्तर्गतका महत्वपूर्ण शल्यक्रिया सफलतापूर्वक हुन्छन् भन्ने पुष्टि भएको बताए। उनले थपे,‘राजधानी काठमाडौँ र विदेश जानुपर्ने बिरामीलाई सर्वसुलभ रुपमा हामीले सेवा दिन सफल भएका छौं।’ 

सन् २००८ मा बङ्गलादेशबाट कार्डियोथोरासिस तथा भाष्कुलर सर्जरीमा स्नातकोत्तर गरेका डा आचार्यले १० वर्ष काठमाडौंको शहीद गङ्गालाल हृदयरोग केन्द्रमा काम गरिसकेका छन्। यही बीचमा उनले सिङ्गापुरबाट फेलोसिप पनि सम्पन्न गरे।

तीन वर्ष नेपाल मेडिसिटी अस्पताल काठमाडौँमा कन्सल्टेन्ट कार्डियोसर्जनको रुपमा काम गरिसकेका डा आचार्य गत वैशाखदेखि चितवन मेडिकल कलेजमा कार्यरत छन्। उनी मुटुसम्बन्धी तीन हजारभन्दा बढी शल्यक्रियामा प्रत्यक्ष संलग्न हुन् । आफ्नो नेतृत्वमा दुई हजारभन्दा बढी शल्यक्रिया भइसकेको डा आचार्यको भनाइ छ । कलेजले सेवा दिनुअघि धेरै बिरामी काठमाडौँ, भारत र तेस्रो मुलुक जाने गर्दथे।  

प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्