Kathmandu Press

चितवनमा हिउँदे आगन्तुक जलपक्षी गणना सुरु

चितवन, पुस २२ : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ। बुधबार सुरु भएको गणना शुक्रबारसम्म जारी रहनेछ।नेपालमा...
चितवनमा हिउँदे आगन्तुक जलपक्षी गणना सुरु

चितवन, पुस २२ : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ। बुधबार सुरु भएको गणना शुक्रबारसम्म जारी रहनेछ।

नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ। नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ। 

जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो। अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो। नेपाल पक्षीविद् सङ्घको बागमती प्रदेश संयोजक वासु विडारीका अनुसार आज बीस हजारी ताल र आसपासका क्षेत्रमा गणना भइरहेको छ।

Hardik ivf

बाटुली, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्रमा आज १९ जना विज्ञले गणना गरिरहेको उनले जानकारी दिए। गणकहरुले बुधबार लोथरखोलाबाट कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरेका थिए।

वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार शुक्रबार छुटपुटका ठाउँमा र पश्चिम चितवनमा गणना गरिँदै छ। राप्ती नदीको घठगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भंगला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिनेछ।

वर्ड एजुकेसन सोसाइटी, नेपाल पक्षीविद् संघ, हिमालयन नेचर, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना भइरहेको छ। पहिलो दिन ४२ जना गणकले गणना गरेका थिए।

चौधरीले बाइनाकुलार क्यामेरा, जिपिएस, साउन्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिएको बताए। गत वर्ष चितवनमा ५५ प्रजातिका ९ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए। नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो।

नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्छन्। मंगोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एसियालगायत ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए।

नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ। यस गणनामा फोटोग्राफरको पनि सहभागिता हुने गर्छ। चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ।

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्