Kathmandu Press

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग

चितवन, पुस २२ : नेपाललाई हिन्दु राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन्। चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दु महासंघको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन्।

महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले हिन्दु राष्ट्रका लागि चितवनबाटै धार्मिक आन्दोलन सुरु गर्नुपर्ने बताए। ‘हरेराम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘यो आन्दोलन चितवनबाट सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ।’ मुलुकलाई हिन्दु राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए।

महासंघमा विवाद नभएको र  केन्द्रीय समिति एउटै बनेको छ तर महासंघको अन्तर्राष्ट्रिय समितिमा देखिएको विवाद समाधानको बाटोमा अगाडि बढिसकेको छ छ भन्दै उनले यहाँ हिन्दुहरुलाई लडाउँदै फुटाउने खेल भएको गुनासो गरे।

‘हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, ओम र राष्ट्रिय झण्डामा राष्ट्र मात्रै हुन्छ,’ अध्यक्ष अधिकारीले भने, “धर्म जोगाउन सन्देश दिँदै हिन्दु राष्ट्र ल्याउने संकल्पका साथ अगाडि बढे मात्र  हिन्दु राज्य फिर्ता ल्याउन सकिन्छ।’

महासंघका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। ‘दलहरुको स्वार्थका लागि हिन्दु राज्यबाट नेपाललाई हटाइयो,’ उनले भन्नुभयो, ‘हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सह्य हुँदैन।’ वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दु  राज्य हुनुपर्नेमा महासचिव न्यौपानेले जोड दिए।

महासंघका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्य मिलेर नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नुपर्ने बताए। ‘अब निर्वाचन आउँदैछ, हामीले राजनीनिक दल नहेरौँ जसले हिन्दु धर्मका बारेमा आवाज उठाउँछ त्यसैलाई मतदान गरेर हिन्दू राज्य बनाउन पहल गरौं,’ सचिव पौडेलले भने, ‘सबै ओमकार परिवारका सदस्यको पहलमा नेपाललाई हिन्दु राज्य बनाउन सकिन्छ ।’ 

सबै धार्मिक क्षेत्रमा मांसमदिरा निषेध गर्न सकेमा हिन्दु धर्मको गरिमा बढ्नमा उनले जोड दिँदै नेपाललाई हिन्दू राष्ट्र कायम गर्न चितवनबाट आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको र यसमा  सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए। 

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्