त्रिवेणी कपको उपाधि भोटेओडारलाई
काठमाडाैं, पुस २२ : जिल्लाकै सर्वाधिक धन राशिको २९औं त्रिवेणी कप पुरुष फुटबल प्रतियोगिताको त्रिवेणी कपको उपाधि लमजुङको बुद्धयुथ क्लब भोटेओडारले जित्न सफल...
काठमाडाैं, पुस २२ : जिल्लाकै सर्वाधिक धन राशिको २९औं त्रिवेणी कप पुरुष फुटबल प्रतियोगिताको त्रिवेणी कपको उपाधि लमजुङको बुद्धयुथ क्लब भोटेओडारले जित्न सफल भएको छ।
बेंसीसहर नगरपालिका–७ स्थित सहजी रङगशालामा बुधबार साँझ सम्पन्न भएको फाइनाल खेलमा भोटेओडारले भगवती टोखा युवा क्लब काठमाडौंलाई २–० को फराकिलो गोलअन्तरलेपछि पार्दै उक्त उपाधि जित्न सफल भएको हो।
त्रिवेणी कपको उपाधिका लागि भोटेओडारका जर्सी नम्बर ११ का सन्दिप राना मगरले खेल सुरु भएको १३ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो।
त्यस्तै, विदेशी खेलाडी जर्सी नम्बर २२ का याह्हिक अबदुल्हाले खेल पहिलो हाफ अघिकै १५औँ मिनेटमा एक गोल गर्दै दुई गोलको अग्रताले भोटेओडार अघि रहदै उक्त दुई गोल नै विजयीको लागि पर्याप्त बनेसँगै उक्त उपाधि प्राप्त गरेको हो।
यसअघि १९औं त्रिवेणी कपको विजेता बनेको थियो भने, यस उपाधि दोस्रो पटक जित्न सफल भएको छ। त्रिवेणी कपको दावेदार मानिएको भगवती टोखाले खेलअवधिको अन्तिम समयसम्म पनि गोल गर्ने सुनौलो अवसर पाएपनि गोल गर्न असफल हुँदा पराजित बन्दै दोस्रो स्थानमा चिक्त बुझाउन बाध्य हुन पुग्यो।
त्रिवेणी कपको च्याम्पियन बन्न सफल भोटेओडारले सेमिफाइनल खेलमा समाज कल्याण काठमाडौंलाई हराउँदै फाइनलयात्रा तय गर्दै उपाधि जित्न सफल भयो। दोस्रो हुन सफल काठमाडौंले आयोजक तथा साबिक विजेता त्रिवेणी युवा क्लबलाई सेमिफाइनलबाट फाइनालको यात्रा समाप्त गर्दै फाइनाल पुगेको थियो।
त्रिवेणी कपको च्याम्पियन बन्दै बिवाइसी भोटेओडारले नगद रु पाँच लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेतामा सीमित बन्न पुगेको श्रीभगवती टोखाले नगद रु तीन लाख, रजत पदक र प्रमाणपत्र प्राप्त गरेको छ।
सेमिफाइनल उपविजेता दुई टिम आयोजक त्रिवेणी युवा क्लब र समाज कल्याण काठमाडौँले नगद रु ५०/५० हजार मेडल, प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो स्थानमा चिक्त बुझाउन बाध्य भएका श्रीभगवती टोखाका जर्सी नम्बर २५ का विदेशी खेलाडी अरमान बेबोम र भोटेओडारका विदेशी खेलाडी जर्सी नम्बर ७ का फकुल्ले अबयोमीले सम्मान चार चार गोल गर्दै दुई जना नै सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । उनीहरुले जनही रु साढे सात हजार प्राप्त गरे।
त्यस्तै भगवती टोखाकाजर्सी नम्बर ७ का अमित लामाले सर्वोकृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै वाग्मती युवा क्लब सर्लाही अनुशासित टिम घोषित हुँदै ट्रफी प्राप्त गरेको छ।
आयोजक क्लबका अध्यक्ष विनोद गुरुङका अनुसार त्रिवेणी युवा क्लब बेंसीसहर लमजुङको आयोजनामा यही पुस गत १२ गतेदेखि सुरु भएको यस प्रतियोगितामा जिल्लाभरीका १८ टिमको सहभागिता रहेको थियो।
विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए। गत वर्ष भने कोरोना सङ्क्रमणका कारण त्रिवेणी कप हुन सकेको थिएन।
यस वर्ष भएको खेलको फाइनाल खेलको दिनमा मात्र पाँच हजार भन्दा बढी दर्शक उपस्थित भएको आयोजकले जनाएको छ।











