Kathmandu Press

तनहुँको पुस २७ गते ऋषिङमा सार्वजनिक बिदा

तनहुँको पुस २७ गते ऋषिङमा सार्वजनिक बिदा

दमौली, पुस २२ : तनहुँको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए। गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्याराथन गर्दैछ। म्याराथनका लागि विभिन्न ठाउँमा १६ वटा गेट निर्माण गरिनेछ र प्रत्येक गेटमा चेक प्वाइन्ट राखिनेछ। 

Hardik ivf

खुला म्याराथन ४२।२ किमि दूरीको हुनेछ। धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिनेछ। 

स्थानीयतर्फ १० किमि दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुङ्गिनेछ भने महिलातर्फ चार किमि दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुङ्गिनेछ। 

खुलातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने तीन जनालाई रु दश हजार पुरस्कार प्रदान गरिनेछ । स्थानीयतर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु ६ हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ । 

महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ । सोही दिन ऋषिङ–३ मा निर्माण भएको अतिथि भवनको कांग्रेस नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ।  

प्रकाशित मिति: १०:४१ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्