Kathmandu Press

थारु समुदायमा माघी पर्वको तयारी

देउखुरी, पुस २१ : दाङ घोराही–९ का खुशीराम चौधरी यतिखेर निकै व्यस्त छन्। नजिकिँदो माघी पर्वका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात...
थारु समुदायमा माघी पर्वको तयारी
फाइल तस्बिर

देउखुरी, पुस २१ : दाङ घोराही–९ का खुशीराम चौधरी यतिखेर निकै व्यस्त छन्। नजिकिँदो माघी पर्वका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न उनी दैनिक जंगल धाउन थालेका छन्।

‘तीन दिन भयो, जंगलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेको छु । दुनाटपरी लगाउनुछ,’ उनले भने, ‘माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ। अब फुर्सद हुन्न।’

घोराहीका भुवन चौधरी पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त छन्। ‘माघी हाम्रो प्रमुख पर्व हो। हाम्रा लागि यो नयाँ वर्षको सुरुआत हो। यस समयमा हामी खानपान, रमाइलो मात्र होइन, वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं,’ उनले भने, ‘यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्छौं। यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ।’

Hardik ivf

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी शुरु गरिएको छ। माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको घोराही माघी महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका चौधरीले बताए।

दाङका थारु बस्तीमा अहिले माघी पर्वको रौनक छाएको छ। माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल बढेको हो। यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ।

माघी नजिएकाले थारु बस्तीमा अहिले दाउरा संकलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका छन्।

यतिखेर गाउँगाउँमा रातभर आगो बाल्ने चलन अनुसार दाउरा संकलन, धान, चामल कूटानपिसान, जाँड बनाउने  र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त छन्। माछा मार्ने, ढिर्की, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड), अनदीको रोटी, भातलगायत विशेष मीठामीठा परिकारको जोहो माघमा गर्ने चलन छ।  

‘यतिखेर थारु बस्तीका सबै व्यस्त छन्, सबैको घरमा माघीको तयारी सुरु भएको छ,’ संयोजक चौधरीले भने, ‘माघी पर्वले थारु बस्तीमा रौनक ल्याउँछ। नयाँ जोस र उमंगका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो।’

माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन्। गाउँभरि मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन्। नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ।

खिचडीमा मासको दाल, चामल र नून राखिएको हुन्छ। यो खिचडी पूर्खा, देवीदेवता र चेलीवेटीका लागि छुट्याइएको हुन्छ। छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली) का रुपमा चेलीबेटीका घरमा पुर्‍याउने प्रचलन रहेको मतहवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए। 

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर (थारु भाषामा जिता मार्ना) मारेर बराबर बाँड्ने चलन छ। माछासँगै गंगटा र घोंगीको विशेष परिकार बनाएर खाने गरिन्छ, माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ।

यो नाच शृृंगार  र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वरपनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारुले बताए। 

थारु समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने र नयाँ मतहवा चुन्ने चलन छ। 

यसै उपलक्ष्यमा दाङमा थारु कल्याणकारिणी सभाले माघी महोत्सव मनाउने भएको छ। मूल आयोजक समिति गठन गरेर महत्सवको तयारी गरेको थारु कल्याणकारिणीसभा दाङले जानकारी दिएको छ। यही पुस २७ र २८ गते घोराहीमा माघ महोत्सव सञ्चालन गर्न लागेको मेला आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिए।

सांस्कृतिक, आर्थिक, अतिथि सत्कार, प्रचारप्रसार, मञ्च व्यवस्थापन, यातायात, स्वास्थ्य, स्वंयसेवक परिचालन, र्‍याली व्यवस्थापन र सम्पर्क समन्वय उपसमिति गठन गरिएको मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए। (रासस)

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, पुस २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्