Kathmandu Press

पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडाैं, पुस २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा...
पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडाैं, पुस २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने बताएका छन। राप्रापा प्रदेश नं २ समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय आमसभामा उनले भने, 'हामीले पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ।'

सरकारले अहिलेसम्म राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरिरहेको छ भन्दै उनले यदि सार्वजनिक बिदाको घोषणा गरिएन भने आफ्नो पार्टी त्यही दिनदेखि देशव्यापी आन्दोलनमा जाने बताए। 'पृथ्वीजयन्ती कुनै पार्टी र विचार विशेषको विषय होइन,' अध्यक्ष लिङ्देनले भने, 'यो वाद र विचारभन्दा माथिको कुरा हो, त्यसैले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन कुनै कन्जुस्याइँ गर्नुहुँदैन।'

Hardik ivf

पार्टीका कार्यक्रममा माहात्मा गान्धी, माओ र लेनिनको तस्बिरमा माल्यापर्ण गर्ने र उनीहरुलाई आर्दश पुरुष मान्ने तर राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आर्दश नमान्ने परम्परा हामीले देख्दैछौँ भन्दै उनले भने, 'त्यसबाट पनि ठूला पार्टी राष्ट्रिय एकता र राष्ट्रियताप्रति कति इमान्दार छन् भन्ने अनुमान लगाउन सक्छौँ।' राप्रपा राष्ट्रिय एकता, हिन्दू राष्ट्र र राजसंस्था कायम गराउने एजेण्डासहित अघि बढेको उनको कथन थियो।

अध्यक्ष लिङ्देनले राजा र राजसंस्था राष्ट्रिय अस्तित्वको रक्षक भएकाले राजसंस्था पुनःस्थापनाका लागि आफ्नो पार्टी अघि बढिरहेको बताए। नेपाल पनि सिक्किमीकरणमा पर्नेसक्ने उनले चिन्ता व्यक्त गरे। त्यसैको रक्षाका लागि जनता जागरुक हुनुपर्ने उनको भनाइ थियो।

धर्म निरपेक्षताका नाममा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै उनले यस्तै अवस्था रहिरहे भविष्यमा धार्मिक द्वन्द्व हुने खतरा रहेकाले सचेत हुनुपर्ने बताए। मुलुकमा रहेका ठूलाठूला उद्योगधन्दा कलकारखाना बन्द भएर देशमा बेरोजगारी बढेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले मुलुक यतिबेला बेरोजगार उत्पादन गर्ने कारखानाजस्तै बनेको टिप्पणी गरे।

सभामा राप्रापाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दू राष्ट्र कायम गर्न र राजसंस्था फर्काउन सङ्घर्ष एकमात्र विकल्प रहेकाले त्यसका लागि तयार रहन अपिल गरे। उनले हिमाल, पहाड र तराईलाई जोड्ने एकमात्र संस्था राजसंस्था र हिन्दू राष्ट्र भएकाले त्यसलाई फर्काउन आफ्नो पार्टी ठोस एजेण्डाका साथ अघि बढेकाे बताउँदै सम्पूर्ण जनतालाई एकताको सूत्रमा बाँधेर अघि बढ्ने एकमात्र पार्टी आफ्नो पार्टी रहेको दाबी गरे।

राप्रापा प्रदेश नं २ का अध्यक्ष भरत गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राप्रापाका महामन्त्री भुवन पाठक, नेता कृष्णप्रताप मल्ल, केन्द्रीय सदस्य डा राजेश गिरी, मोहन यादव, महामाया सिंहलगायतले बोलेका थिए। सो अवसरमा विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई अध्यक्ष लिङ्देनले फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए।

प्रकाशित मिति: १९:३५ बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्