बेचनीकुमारी सरदारको गाउँपालिका उपाध्यक्ष यात्रा
मधेसमा दलित समुदायमाथि छुवाछुत चर्को छ । इनार छोएकै कारण कुटपिट भएका घटना मिडियामा आइरहेकै छन् । तर, बेचनीले पञ्चायतकालमा पनि छुवाछुतको अनुभव गर्नुपरेन।
काठमाडौं, पुस २० : ०५१ सालतिर, बेचनीकुमारी सरदार आफ्ना श्रीमान्सँग काम विशेषले सप्तरी जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । उनीहरू कार्यालय प्रमुखको टेबलनजिकै थिए । उनीहरूसँगै एक जोडी पनि थिए । ती जोडीलाई कार्यालयकी एक महिला कर्मचारीले हप्काइन्, ‘तपाईंहरू यहाँ नबस्नुस् !’ उनीहरू अलि परको मेचमा गएर बसे ।
दलित भन्ने चिनेर उनीहरूलाई ती कर्मचारीले त्यस्तो व्यवहार गरेकी थिइन् । उनीहरू झट्ट हेर्दै अशिक्षित, सोझा र निमुखा देखिन्थे । हुन त बेचनीका दम्पतीलाई पनि ती कर्मचारीले दलित भनेर चिनेकी थिइन्, तर केही भनिनन् । किनभने बेचनी दम्पती शिक्षित र पढेलेखेका थिए, जिल्लामा पनि उनीहरूको चिनजान राम्रै थियो।
‘उनले हामीलाई राम्रै व्यवहार गरेकी थिइन् । त्यो दृश्यबाट मलाई के लाग्यो भने– यो समाजमा सम्मान पाउन पहुँच भएको हुनुपर्छ,’ उनी भन्छिन्, ‘मानिसहरू हैसियत हेरेर व्यवहार गर्छन्।’
तर, अधिकांश दलितको अवस्था (हैसियत) ती कर्मचारीबाट हप्काई खाने दम्पतीको जस्तै छ । यो कुरा बेचनीले बिस्तारै बुझ्दै गइन् । उनले यो पनि बुझिन्– सबै परिवर्तनको जग राजनीति हो । तर राजनीतिमा आउँला भन्ने उनलाई थिएन । समयले उनलाई राजनीतिमा ल्यायो । अहिले उनी सप्तरीको रूपनी गाउँपालिकाकी उपाध्यक्ष छन्।
वडाध्यक्षकी छोरी
सप्तरी जिल्लाको साबिक वनरझुला गाविस (हालको खडक– ३)मा बेचनीको जन्म भएको हो, २०२९ भदौ १५ मा । उनका बुबा किसुनलाल सरदार एकपटक वनरझुला– ९ का निर्विरोध वडाध्यक्ष भएका थिए, कांग्रेसी राजनीतिबाट । परिवारको पेसा कृषि थियो, उब्जनीले लाउनखान प्रशस्तै पुग्थ्यो । त्यसमाथि किसुनलालले कक्षा ९ सम्म पढेका थिए।
यही पृष्ठभूमिले गर्दा उनले पढ्न पाइन् र सानैदेखि राजनीतिक विषयसँग घुलमिल हुन पाइन् । बुवा राजनीतिक व्यक्तित्व भएकाले उनको घरमा मानिसका आवतजावत भइरहन्थ्यो।

मधेसमा दलित समुदायमाथि छुवाछुत चर्को छ । इनार छोएकै कारण कुटपिट भएका घटना मिडियामा आइरहेकै छन् । तर, बेचनीले पञ्चायतकालमा पनि छुवाछुतको अनुभव गर्नुपरेन।
उनको माइती घर चौधरी समुदायको माझमा छ । चौधरी समुदायमा छुवाछुत त्यति चर्को रूपमा थिएन र छैन । ‘बाल्यकालमा छुवाछुतको अनुभवै गरिनँ भन्दा पनि हुन्छ,’ उनी भन्छिन्, ‘तर अछुतो शब्द सुनेकी थिएँ, त्यसको अर्थ भने मलाई थाहा थिएन।’
बुवा पढेलेखेको भएकाले उनले सानै उमेरमा स्कुल जाने अवसर पाएकी थिइन्, तर त्यतिबेला समाजमा सानै उमेरमा बिहे गरिदिने प्रचलन थियो । उनको पनि सानै उमेरमा विवाह भयो र पढाई बिथोलियो । यद्यपि बिहेपछि उनी श्रीमानको घरमा गइनन्, माइतीमै बसेर पढिन् । २१ वर्षको उमेरमा एसएलसी गरिन्।
एसएसलीपछि मात्रै उनी श्रीमानको घरमा बस्न थालिन् । उनका श्रीमान् पनि पढ्दै थिए । उनले पनि घरमै पढ्ने अवसर पाइन् । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट आइए र स्नातक गरिन् । ‘अंग्रेजीमा बिए गरेँ,’ उनी भन्छिन्, ‘श्रीमान्को परिवार सहयोगी र साक्षर भएकाले पढ्ने अवसर पाएँ।’
अहिले उनीहरूका तीन छोराछोरी छन् । उनका श्रीमान् शिक्षक पेसामा आबद्ध छन् । उनले श्रीमान्कै सहयोगमा पढ्ने, जागिर गर्ने, राजनीति गर्ने अवसर पाइन्।
एक्कासि राजनीतिमा
पढाइसँगै उनले गैरसरकारी संस्था जागिर गरिन् । पढेलेखेकी भएकीले उनी दलित सेवा संघमा आबद्ध भएकी थिइन् । यसरी समाज बुझ्दै गरेका बेला उनलाई राजनीतिमा प्रवेश गर्ने अवसर मिल्यो।
२०५४ सालमा मधेसी जनअधिकार फोरमको जन्म भएको थियो, गैरसरकारी संस्थाका रूपमा । उपेन्द्र यादवले त्यतिबेला विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेका थिए । छलफलबाट उनको नेतृत्त्वले देशमा सामाजिक, आर्थिक र राजनीतिक समस्या नै मुख्य रहेको निष्कर्ष निकालेको थियो । यही मेसोमा बेचनी पनि फोरससँग जोडिन पुगिन्, ०५४ सालदेखि नै।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गाउँगाउँमा गर्ने विभिन्न कार्यक्रममा बेचनीलाई स्वागत मन्तव्य भन्न लगाइयो । ‘मलाई यस्तो अवसर स्थानीय नेता अमरनाथ यादवले दिनुभएको थियो,’ उनी भन्छिन्, ‘यही सिलसिलामा मैले मधेसका उत्पीडित वर्ग लगायतका समस्यालाई अझ नजिकबाट बुझ्ने अवसर पाएँ ।’

उनले सुरुमै फोरमको भ्रातृ संगठन महिला फोरममा जिल्ला उपाध्यक्षको जिम्मेवारी पाइन् । यसरी राजनीतितर्फ उनको सक्रियता बढ्दै गयो ।
०६० सालमा विराटनगरमा फोरमको महाधिवेशन भयो । यसबाट उनी केन्द्रीय सदस्य चुनिइन् । फोरमले ०६२ चैत र २०६३ माघमा मधेसमा आन्दोलन ग¥यो । जसले मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिमा ल्याएको थियो । यी सबै आन्दोलनमा बेचनी सक्रिय थिइन् । यसैलाई कदर गर्दै ०७४ को स्थानीय तहको चुनावमा उनलाई पार्टीले गाउँपालिका उपाध्यक्षको टिकट दियो । उनी निर्वाचित भइन्।
अध्यक्षबाट काम गर्न रोकावट छैन
रूपनी गाउँपालिका अध्यक्ष छन्, हरेराम यादव । उनले राष्ट्रिय जनता पार्टीबाट जितेका हुन्।
पार्टी फरक पर्दा र उप पदमा महिला हुँदा कतिपय ठाउँमा कामको तालमेल नमिलेको, पुरुष प्रमुखले उपाध्यक्ष वा उपप्रमुखलाई नसोधी काम गरेको जस्ता गुनासा पनि सुनिएका छन् । तर, आफूलाई पदीय जिम्मेवारी निर्वाह गर्न अध्यक्षबाट कुनै बाधा–अवरोध नभएको बेचनी बताउँछिन्।
‘राजपा र फोरम मिलेर चुनावमा गएका थियौँ, त्यसैले हामीबीच काम गर्न कुनै अप्ठेरो छैन,’ उनी भन्छिन्, ‘हामीले आ–आफ्नो जिम्मेवारी निभाइरहेका छौँ । अन्य गतिविधि पनि सल्लाह सुझावमा हुन्छ।’
पार्टीमा सक्रिय हुँदा पनि उनले जातीय या लैंगिक विभेदको सामना गर्नुपरेन । ‘पार्टीभित्र विभिन्न विभेद थिए तर मलाई विभेद गर्ने आँट कसैले गरेन,’ उनी भन्छिन्, ‘आफूलाई मन नपर्ने व्यवहार भए मैले प्रतिक्रिया जनाइहाल्छु, सहेर बस्दिनँ । अहिले मैले अन्य महिलालाई विभेदमा आवाज उठाउन भनिरहेकी छु।’
उपाध्यक्ष भएपछि के गरिन् ?
०७४ सालअघि रूपनी गाउँपालिकाले त्यति विकासाको गति समातेको थिएन । समथर ठाउँ भएकाले डुबानको जोखिम हुन्थ्यो । त्यसैले आफूहरूले सडक, ढल र पुलको निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उपाध्यक्ष सरदार बताउँछिन् । ‘स्थानीय सरकार आएपछि गाउँपालिकाभित्र कृषि सडक नौ किलोमिटर कालोपत्र भइसकेको छ । छोटो दूरीका तीनवटा पक्की पुल, डुबानबाट गाउँलाई जोगाउन केही स्थानमा ढल निर्माण, ११ वटा सामुदायिक भवन निर्माण गरिसकेका छौँ,’ उनी भन्छिन्, ‘विवाह, व्रतबन्ध, सभाहल, आपकालीन समयमा बस्नका लागि सामुदायिक भवन निर्माण गरेका हौँ । पहिले ८–९ वटा मात्र विद्यालय थिए, अहिले १३ वटा सामुदायिक विद्यालय पुगेका छन्।’

गाउँपालिकामा अहिले चारवटा मावि र नौवटा आधारभूत विद्यालय रहेको र ती विद्यालयको भौतिक उन्नतिमा काम गरेको उनी बताउँछिन् ।
उनका अनुसार, गाउँपालिकाले २१ कृषकलाई ५० प्रतिशत अनुदानमा सानो ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले सुरुवाती दिनदेखि अहिलेसम्म ५० प्रतिशत छुटमा कृषकलाई धानको बीउ पनि वितरण गर्दै आएको छ । बर्खाको समयमा एकपटक ज्येष्ठ नागरिकलाई एक जोर कपडा र छाता निःशुल्क वितरण दिइन्छ।
‘महिलालाई सीपमूलक तालिम (मुढा बनाउने, नाम्लो बुन्ने, अगरबत्ती बनाउने, सिलाइकटाई) दिएका छौँ । आर्थिक अवस्था न्यून भएका दलित र गरिबलाई आर्थिक सहयोगको व्यवस्था समेत गरेका छौँ,’ उनी भन्छिन्, ‘न्यून आर्थिक आयस्रोत हुनेले कुनै पनि व्यवसाय गर्न चाहे न्यूनतम १० हजार रूपैयाँ अनुदान सहयोग दिएका छौँ।’
गाउँपालिकाले तालिम लिएकालाई ५० प्रतिशत अनुदानमा लुगा सिलाउने मेसिन दिएको छ । त्यस्तै, अपांग महिला तथा पुरुषलाई ह्विल चियर निःशुल्क वितरण गरिएको छ।












-(86)-1764936079.jpg)