Kathmandu Press

रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे

रूकुमपूर्व, पुस १८ : रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन्। ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही...
रुकुमपूर्वका १४ मजदुर हिउँमा फसे

रूकुमपूर्व, पुस १८ : रुकुमपूर्वमा १४ मजदुर विगत पाँच दिनदेखि हिउँमा फसेका छन्। ती मजदुर बसेको स्थान पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा यही पुस १३ र १४ गते बाक्लो हिउँ परेको र त्यहाँबाट उनीहरू बाहिर आउन नसकेका हुन्।  

वडा नम्बर २ ले बजेट विनियोजन गरेपछि घोरेटो बाटो निर्माणका लागि योजना परेको थियो। सोही घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण बाहिर आउन सकेका छैनन्। वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आइतबार मात्रै खबर आएको थियो।

उनीहरूमध्ये १० पुरुष र चार महिला छन्। जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन पाँच दिनदेखि ओढारमा बसिरहेका छन। खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ। सबै जना पेल्माका बासिन्दा हुन्।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले आइतबार मात्रै खबर आएकाले उनीहरूको उद्धारको पहल भइरहेको जानकारी दिए। हिउँमा फसेका मजदुरको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकाेप्टर पठाउन आग्रह गरिएको प्रजिअ बाँस्कोटाले बताए। उनीहरू रहेको ठाउँको पहिचान गरी उद्धार गर्ने तयारी गरिएको उनको भनाइ छ।

प्रकाशित मिति: १९:२५ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्