Kathmandu Press

भक्तपुरमा मानवअधिकार हननका घटनामा वृद्धि

भक्तपुर, पुस १८ : भक्तपुरमा सन् २०२१ मा मानव अधिकार हननका घटनामा वृद्धि भएको देखिएको छ। सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका...
भक्तपुरमा मानवअधिकार हननका घटनामा वृद्धि

भक्तपुर, पुस १८ : भक्तपुरमा सन् २०२१ मा मानव अधिकार हननका घटनामा वृद्धि भएको देखिएको छ। सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाको अध्ययन गर्दा सन् २०२० को तुलनामा मानव अधिकार हननका घटना बढेका देखिएको हो।  

गत वर्ष हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुर्व्यवहार, बहुविवाहलगायत ३६६ मानव अधिकार हनन एवं ज्यादतीका घटना भएका थिए।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को जिल्ला शाखाले सङ्कलन गरेको तथ्याङ्कानुसार गत वर्ष सात जनाको हत्या भएको र छ जनाको हत्या प्रयास भएको थियो । 

Hardik ivf

त्यसैगरी बालिका १९ र महिला २४ गरी ४३ जनामाथि बलात्कार भएको र आठ जना बलात्कार प्रयासबाट पीडित भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले जानकारी दिए।

त्यस्तै बाल यौन दुर्व्यवहारबाट १०, बहुविवाहबाट ११ महिला पीडित भएका थिए भने मानव बेचबिखनबाट छ, घरेलु हिंसाबाट पाँच, आत्महत्या दुरुत्साहनमा तीन जना पीडित भएका थिए। गत वर्ष ५८ जनाले आत्महत्या गरेका थिए। 

भक्तपुर सानो जिल्ला भए पनि यो तथ्यांकलाई हेर्दा यहाँ बलात्कार, बलात्कार प्रयास, हत्या र आत्महत्या डरलाग्दोरूपमा बढेको जानकारी दिँदै उनले बलात्कार रोक्न, आत्महत्या रोक्न सुरक्षा निकाय र स्थानीय तहले वडावडामा सचेतना कार्यक्रम गर्नुपर्ने, मनोपरामर्शको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए। सन् २०२० मा आठको हत्या भएको, ३२ बलात्कारका घटना भएका र घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए। 

यसबारे जानकारी लिँदा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशतले हिंसा बढेको बताउँदै घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको जानकारी दिए।

बहुविवाह र बालविवाहका कारण उनीहरुबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेका र आफ्नो पहिचान पाउन नसकेको बताउँदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरै सचेत हुनुपर्नेमा जोड दिए। 

महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले पछिल्लो समय हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना बढेको जानकारी दिए।

कुनै पनि अपराधको मुख्य कारण आर्थिक पक्षसँग जोडिएर आउने गरेको भन्दै उहाँले मादक पदार्थ तथा लागुपदार्थको बिक्रीवितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने भएकाले अपराध न्यूनीकरणका लागि समाज जिम्मेवार भएर लाग्नुपर्ने बताए।

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, पुस १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्