‘डिजिटल गाउँपालिका’ बन्याे बागलुङको काठेखोला
बागलुङ, पुस १८ : बागलुङको काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका बनेको छ। कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो...
बागलुङ, पुस १८ : बागलुङको काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका बनेको छ। कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो।
१० स्थानीय तह रहेको बागलुङमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्यांकनमा काठेखोला सूचना प्रविधिमा पहिलो भएको थियो। गाउँपालिकाले आफूलाई ‘डिजिटलाइज’ गाउँपालिका घोषणा गरेर अभियान थालेको थियो। ‘डिजिटल गाउँपालिका’ बनाउने अभियानअन्तर्गत कार्यापालिकाको कार्यालयदेखि वडा तहसम्मका सबै काम अनलाइन प्राणालीमार्फत गर्न थालिएको गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बताए।
‘विभिन्न घटना दर्तादेखि पञ्जीकरणका काम सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने हाम्रो गाउँपालिका देशकै पहिलो हो,’ अध्यक्ष थापाले दाबी प्रस्तुत गर्दै भने, ‘आधिकारिक जानकारी दिने निकाय त कोही छैन तर पञ्जीकरणका काम अनलाइन प्रविधिमा भएको यसअघि हामीबाहेक अरू कोही छ भन्ने हामीलाई लाग्दैन।’
गाउँपालिकाको राजस्व संकलनको कामसमेत अनलाइन प्रविधिबाट गर्ने गरेको छ। निर्माणका काममा उपभोक्ता समितिको विवरणदेखि कर्मचारीको हाजिरीसम्मका काम सबै अनलाइन प्रणालीमा छन्। ‘गाउँपालिकाको चित्र बोल्ने डिजिटल प्रोफाइल हामीले तयार गरेका छौं,’ थापा भन्छन्, ‘अब किसानका उत्पादनदेखि बजारीकरणका लागि आवश्यक कृषि एपको तयारीमा छौं।’
विद्यालय, स्वास्थ्य संस्था र अन्य विषयगत शाखामार्फत सञ्चालन हुने कार्यालयसमेत अनलाइन प्रविधिको सहायता सञ्चालनको तयारी भइरहेको थापाले बताए। ‘पाँच वर्षको अवधिमा हामीले प्राविधिका क्षेत्रमा फड्को मारेका छौं। यो हाम्रा लागि सुखद पक्ष हो। गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक प्रेम लामिछानेले भने, ‘कम्तीमा हामीले आत्माग्लानि हुने काम गरेका छैनौं, कुनै न कुनै क्षेत्रमा हामी अब्बल छौं, भन्ने कामले देखाउनेछन्।’
भौगोलिक विकटताका बाबजुद गाउँपालिकाले सबै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाको सहकार्यमा डिजिटल तथ्यांक रहने गरी सामाजिक सुरक्षाभत्ता गाउँगाउँमा पुगेको सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले बताए।
प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यप्रगति र तथ्यांक समयमा अद्यावधि गरेका कारण पटकपटक उपहारस्वरुप थप बजेट प्राप्त गरेको उदाहरण गाउँपालिका अध्यक्ष थापाले सुनाए।
‘प्रविधिको प्रयोग गरेर काम गर्दा धेरै सहज र सरल हुन्छ, सुरुआत गर्न कठिन हो, काम थालेपछि सहज हुन्छ,’ अध्यक्ष थापा भन्छन्, ‘हामी जिल्लाभरका पालिकाका लागि उदाहरण बनेका छौं, गाउँपालिकाले विदेशमा रहेका नागरिकको डिजिटल तथ्यांक तयारीको कामसमेत थालेको छ।’












