लोकतान्त्रिक चरित्र निर्माण वर्तमानको आवश्यकता : महामन्त्री शर्मा
काठमाडौं, पुस १६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गरेको बताएका छन् ।राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस...
काठमाडौं, पुस १६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गरेको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले लोकतन्त्र स्थापित भइसकेको वर्तमान अवस्थामा लोकतान्त्रिक चरित्रको निर्माण आवश्यक भएको बताए । हाम्रो व्यवस्था ठिक रहेको अवस्थामा व्यवहार पनि ठिक हुनुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक संस्कृतिको विकास अहिलेका आवश्यकता भएको बताए ।
व्यवहार गतल भएकाको दोष व्यवस्थाको टाउकोमा बोकाउन नहुने उल्लेख गर्दै महामन्त्री शर्माले संविधानमा नै उल्लिखित विषयका माध्यमबाट धेरै राम्रो गरेर जान सकिने बताए। प्रतिस्पर्धी दललाई पनि सुधारेर लैजानुपर्ने उनको भनाइ थियो । हिजोभन्दा आजका बोल्ने र सोच्ने विषय गुणात्मक हुनुपर्नेमा जोड दिँदै उनले महामन्त्रीका रूपमा निर्वाचित भइसकेपछि आम कार्यकर्ताको भावनाअनुरूप बोल्नभन्दा पनि काममा लाग्ने विश्वास व्यक्त गरे ।
आफू महामन्त्रीको उम्मेदवार बन्दै गर्दा उमेरले नभई एजेन्डाका आधारमा देश चल्नुपर्ने कुरालाई आत्मसात गरी एक, दुई, तीन र चारको सिद्धान्तलाई अघि सारेको उनको भनाइ थियो । समाजमा प्रत्येकले आशा र भरोसा गर्ने कांग्रेस वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले प्रत्येक कांग्रेसी कार्यकर्ताको चरित्र तथा उसको भूमिकालाई आमजनमानसले विश्वास गर्ने किसिमको हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विपीले तत्कालीन समयमा अघि सारेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।












