Kathmandu Press

चितवनमा मरे ३१ वन्यजन्तु

चितवनमा मरे ३१ वन्यजन्तु

चितवन, पुस १६ :  जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन्। साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन्। डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैंडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन्।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा गैंडा करेन्ट लागेर मरेको हो। भरतपुर महानगरपालिका–१६ मा गैंडा मरेको हो। सो विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए। चितुवा रुखमा अड्किएर ठिमुराको जंगलमा मरेको अवस्थामा फेला परेको हो। यस्तै चित्तल र मृग २२, बँदेल पाँच र रतुवा दुई मरेको उहाँले जानकारी दिए।

Hardik ivf

गैंडा र चितुवाबाहेक अन्य अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेका हुन्। खनालका अनुसार ७० प्रतिशत वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेका छन्। वन्यजन्तुलाई ठक्कर दिने दुई सवारी नियन्त्रणमा लिई कारबाही गरिएको छ भने अन्य पहिचान हुन सकेको छैन। 

जिल्लाको वन क्षेत्रमा गत वर्ष ३५ वन्यजन्तु मरेका थिए। तिनीहरुमा एउटा पाटेबाघ, नौ जरायो, २३ चित्तल, एउटा रतुवा र एउटा बँदेल रहेको थियो। खनालले भने, ‘सवारीसाधन चलाउनेले होसियारी पुर्‍याइदिएमा वन्यजन्तु मर्ने सङ्ख्या घट्ने छ।’ धेरै सङ्ख्यामा मर्ने गरेको पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली खण्डमा आकाशे पुल वा सतही सडक निर्माणको बहस चलेको छ।

यता चालु आवको हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ६३ वन्यजन्तु मरेका छन्। सबैभन्दा बढी गैँडा र चित्तल मरेका हुन्। निकुञ्जको तथ्याङ्कानुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएको अवस्थामा गैँडा मृत फेला परेको हो। प्राकृतिक कारणबाट बूढो भएर पाँच, भासी तथा दलदलमा परेर पाँच, पानीमा डुबेर दुई, जुधेर दुई, बाघको आक्रमणबाट एउटा गैंडा मरेका हुन्।

गएको साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र असोज ११ गते धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ। सरकारी हात्ती पालेको अवस्थामा बूढो भएर मरेको छ। खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे।

सोही सङ्ख्यामा चित्तल मरेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र चार भाले चित्तल मरेका हुन्। अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका हुन्। यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन्। खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको तिवारीले जानकारी दिए।

त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन्। ६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ। एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन विभिन्न जनावर मरेको तिवारीले बताए।

प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्