मिर्गौला प्रत्यारोपण गरेकालाई आर्थिक सहायता दिइने
रत्नगर, पुस १६ : चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ।नगरपालिकाले यही पुस ९ गते सार्वजनिक...
रत्नगर, पुस १६ : चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ।
नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ। नगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपक भण्डारीले चालु आर्थिक वर्षमा नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि भनेर दुई लाख विनियोजन गरेको जानकारी दिए।
मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता दिने निर्णय भएअनुसार नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको उनले बताए। मिर्गौला प्रत्यारोपण गरेका नगरवासीको लगत सङ्कलनको काम भइरहेको र सबैको तथ्याङ्क आएपछि माघको अन्तिमदेखि आर्थिक सहायता वितरण गरिने उनले जानकारी दिए।
हालसम्म मिर्गौला प्रत्यारोपण गरेका तीन बिरामीमात्रै सम्पर्कमा आएका उल्लेख गर्दै जनस्वास्थ्य अधिकृत भण्डारीले उनीहरुलाई औषधि खाने खर्चस्वरुप आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताए।
मिर्गौला प्रत्यारोपण गरेका बिरामीले मासिक सेवन गर्ने औषधि र जम्मा पीडितलाई पुग्ने पैसाको अनुपातमा जुन रकम कम हुन्छ सोही रकम आर्थिक सहायतास्वरुप प्रदान गरिने उनले जानकारी दिए। (रासस)












