Kathmandu Press

वर्षा र हिमपातले जनजीवन प्रभावित

काठमाडाैं, पुस १५ : बुधबार बिहानदेखि लगातार परेको वर्षासँगै लेकाली भेगमा भारी हिमपात हुँदा जिल्लामा अत्याधिक चिसो बढेको छ। लगातारको वर्षा र लेकाली भेगमा...
वर्षा र हिमपातले जनजीवन प्रभावित

काठमाडाैं, पुस १५ : बुधबार बिहानदेखि लगातार परेको वर्षासँगै लेकाली भेगमा भारी हिमपात हुँदा जिल्लामा अत्याधिक चिसो बढेको छ। लगातारको वर्षा र लेकाली भेगमा हिमपात भएका कारण चिसो बढेपछि जिल्लाका जनजीवन प्रभावित भएको छ।

हिमपातका कारण टेम्के, चखेवाभञ्ज्याङ, मैयुङ, लौरे, मेरुङ, बहानेपोखरी, रावाधाप, रुपाकोट, वाप्लुखाको मुलडाँडालगायत लेकाली भेगमा पर्ने ठाउँ सेताम्मे भएका छन्। हिउँ पर्दा लेकाली भेगका किसानलाई भने राहत मिलेको जनाइएको छ। 

Hardik ivf

जिल्लाका पर्यटकीयस्थलमा हिउँ परेपछि कतिपय स्थानीय भने रमाइलो गर्न डाँडामा पुगेका छन्। लगातारको वर्षा र हिमपातका कारण जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने साना तथा ठूला सबै सवारीसाधन ठप्प भएका छन्। कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका ग्रामीण सडकमा जमेको पानी र हिलोका कारण यातायात ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए। `लगातारको वर्षापछि मध्यपहाडी लोकमार्गबाहेक सबै ग्रामीण सडक अवरुद्ध छ,´ उनले भने, `कतिपय ठाउँमा मर्मत गरेपछि मात्र यातायात सञ्चालन हुने अवस्था रहेकाले यताको यतै र उताको उतै भएका छन्।´

वर्षा र हिमपातपछि बढेको चिसोका कारण जन्तेढुङ्गा गाउँपालिकाले हप्ता दिनका लागि विद्यालय बन्द गरेको छ। वर्षासँगै उच्च लेकाली क्षेत्रमा चिसो बढेपछि गाउँपालिकाले १५ गतेदेखि २३ पुससम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। चिसोले विद्यार्थी काम्दै विद्यालयमा बस्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको गाउँपालिका प्रमुख शङ्खरबहादुर राईले बताए। गाउँपालिका प्रमुख राईका अनुसार हिउँदे बिदाबाट कटौती गर्ने गरी विद्यालय बन्द गरिएको हो। जन्तेढुङ्गा गाउँपालिकामा ३६ वटा सामुदायिक सञ्चालित विद्यालय छन्।

प्रकाशित मिति: २०:२५ बजे, बिहीबार, पुस १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्