Kathmandu Press

दाङमा वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

देउखुरी, पुस १५ : दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप...
दाङमा वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

देउखुरी, पुस १५ : दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए।

हरेक हप्ताको सोमबार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट  र हरेक शुक्रबार देउखुरीस्थित सिसहनिया स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ ।

बुधबार बसेको कोभिड–१९ खोप समन्वय समिति र अनुगमन समितिको बैठकले वैदेशिक रोजगारीमा जाने वा अन्य कुनै उद्देश्यले विदेश जान लागेकालाई खोप लगाउने निर्णय गरिएको कार्यालयका प्रमुख शाहीले बताए। तीन ठाउँबाट कोरोनाविरुद्धको जोनसोन खोप लगाइनेछ । दाङमा तीन लाख ३० हजार ७४१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 

घोराही उपमहानगरपालिकाले १८ वर्षमाथि उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्राको भेरोसेल खोप लगाउँदै छ । पहिलो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइने भएको छ । यसअघि खोप लगाएका १८ वर्ष माथिकालाई दोस्रो मात्रा र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरिएको हो। 

पालिकाभित्रका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट  खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए। अठतीस हजार ५०९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको उनको भनाइ थियो। 
    
वडा तथा स्वास्थ्य संस्थाले पनि भूगोलअनुसार पायकपर्ने ठाउँमा खोप केन्द्र खेलेका छन् । उपमहानगरपालिकामा अहिलेसम्म एक लाख १० हजार ८१५ जनाले पहिलो डोज र ५० हजार ४९१ जनाले दुुवै डोज खोप लगाएको जनाइएको छ। 

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्