Kathmandu Press

सर्लाहीको बयलवासमा निषेधाज्ञा जारी

सर्लाहीको बयलवासमा निषेधाज्ञा जारी

सर्लाही, पुस १३ : सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा आज दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

यस विषयलाई लिएर स्थानीय र प्रहरीबीच आज झडप हुँदा प्रहरीले चलाएको गोली लागेर आन्दोलित स्थानीयवासी पनि घाइते भएका छन्। ईश्वरपुर–५ का १५ वर्षीय बालक सञ्जय महतोलाई खुट्टामा गोली लागेको छ। उनको उपचारका लागि जनकपुरमा पठाइएको छ। चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जका दिगम्बर महतोलाई घुडामा पलाष्टिकको गोली लागेको छ। इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्वमा ईश्वरपुर–४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा वडा नं ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

Hardik ivf

निषेधाज्ञाको अवधिमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने उल्लेख छ। सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनीलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बताए। पीडित पक्षसँग भएको वार्तामा कुनै सहमति हुन नसकेको र आन्दोलत नियन्त्रण बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाकै बीच स्थानीयवासीले बयलवास बजारमै रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज अगाडि नाराबाजी जारी राखेका छन्।

आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज बिहानैदेखि बारम्बार झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्याससहित हवाई फायर गरे पनि प्रदर्शन रोकिएको छैन। दोहोरो झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी, प्रहरी निरीक्षक कृष्ण गिरीसहित डेढ दर्जन नेपाल प्रहरी र सोही हाराहारीमा सशस्त्र प्रहरी पनि घाइते भएका छन्।

आन्दोलित स्थानीयवासीले नगरपालिका प्रमुख मनोजकुमार देवकोटामाथि आक्रमण गरेका छन्। मृतक रामकुमार महतोको परिवारसँग भेट्न उनमै घरमा पुगेका नगरप्रमुख देवकोटामाथि त्यहीँ आक्रमण भएको हो। घाँटीमा चोट लागेर घाइते नगर प्रमुख देवकोटा उपचारका लागि महोत्तरीको बर्दिवास पुगेका थिए।

नगरप्रमुख देवकोटा चढ्ने ना १ झ १५७० नम्बरको सुमोको सिसा पनि तोडफोड भएको छ। आइतबार राति ईश्वरपुर–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ना ४३ प ५०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रामकुमारको मृत्यु भएको थियो। उनको मृत्युपछि स्थानीयवासी सोमबारदेखि नै आन्दोलित छन्। आन्दोलित स्थानीयवासीले हिजो अपराह्न इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आगजनी गरेका थिए। तनाव बढ्दै गएपछि बयलवास–२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक मसाउँद आलम खाँको नेतृत्वमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरी उपरीक्षक खाँ, प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईसहित जिल्लाका सुरक्षा अधिकारी घटनास्थलमै रहेका छन्।

प्रकाशित मिति: १९:३० बजे, मंगलबार, पुस १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्