रोनाल्डो १० औं पटक पोर्चुगलको वर्ष खेलाडी घोषित
काठमाडौं, भदौ १७ : पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले अर्को कीर्तिमानी बनाएका छन्।
रोनाल्डोले १०....
काठमाडौं, भदौ १७ : पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले अर्को कीर्तिमानी बनाएका छन्।
रोनाल्डोले १० औं पटक पोर्चुगलको वर्ष खेलाडी घोषित हुँदै नयाँ कीर्तिमानी बनाएका हुन्। लामो समय देशको उत्कृष्ट खेलाडी बन्ने सौभाग्य पाएका ३४ वर्षीय रोनाल्डोले यो पटक वर्ष खेलाडी घोषित हुँदा युवा खेलाडी जोजाओ फिलिक्स र बर्नार्डाे सिल्भालाई पछि पारे।
रोनाल्डोले २००७ देखि उत्कृष्ट खेलाडीको सूचीमा वर्चश्व जमाउँदै आएका छन्। सन् २०१० र २०१४ मा मात्र पोर्चुगलको वर्ष खेलाडीको उपाधि जित्नबाट बञ्चित भएका रोनाल्डोले यो पटक १० औं पटक उपाधि जितेका हुन्।
रोनाल्डोले गत सिजन युभेन्ट्सबाट सिरी ए र इटालियन कपको उपाधि जितेका थिए भने पोर्चुगललाई नेशन्स कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका थिए। नेशन्स कपको उपाधि जित्ने क्रममा पोर्चुगलले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।
रोनाल्डो फिफाले सार्वजनिक गरेको फिफा वर्ष खेलाडीको अन्तिम सूचीमा पनि परेका छन्। रोनाल्डोसँगै बार्सिलोनाका लियोनल मेसी र लिभरपुलका भर्गिल भान डाइक फिफा वर्ष खेलाडीको अन्तिम सूचीमा छन्।
यसअघि युईएफ वर्ष खेलाडीको अन्तिम तीनको सूचीमा परेपनि रोनाल्डोलाई पछि पार्दै लिभरपुलका भर्गिल भान डाइकले उपाधि जितेका थिए।