सुरू भयो चलचित्र ‘म’ को छायांकन
काठमाडाैं : कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरिरहेको नेपाली चलचित्र ‘म’ को छायांकन सुरु भएको छ। ललितपुरको गोदावारीमा अभिनेतृ सरिता लामिछ....

काठमाडाैं : कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरिरहेको नेपाली चलचित्र ‘म’ को छायांकन सुरु भएको छ। ललितपुरको गोदावारीमा अभिनेतृ सरिता लामिछाने र डेब्यू नायक संजोग रसाइलीको शट लिँदै छायांकन सुरू गरिएको हो।
यो चलचित्रमा वरिष्ठ कलाकार तथा पाइलट विजय लामा, समर लभकी नायिका रेवती क्षेत्री, मेरी मामुकी नायिका कुसुम गुरुङ्ग, मारुनीकी नायिका रेवीका गुरुङ्गसँगै अनिल कँडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराईलगायतको अभिनय रहनेछ। यस चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरिरहेका छन्।
धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरुमा अवार्ड जित्न सफल लघु चलचित्र बनाएका सेनले यहीँ चलचित्रबाट फिचर फिल्मको निर्देशनमा डेब्यू गरेका हुन्। उनले यसअघि दर्जनौं फिचर फिल्ममा मूख्य सहायक निर्देशन समेत गरेका थिए।
लामो समयदेखि चलचित्रका सम्पूर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो पहिलो चलचित्र हो। यो चलचित्रसँगै अबदेखि हरेक वर्ष एकेडेमीले चलचित्र निर्माण गर्ने र सम्भावना भएका विद्यार्थीहरुलाई अवसर दिने योजना रहेको एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिए।
निर्देशक परिच्छेद सेनसँगै ‘म’ का सिनेम्याटोग्राफर तेन्जिन पाल्देन, एडिटर सुविज्ञ सुन्दर श्रेष्ठ लगायत अधिकांश कलाकार र टेक्निसियनहरु एकेडेमीबाटै फिल्म निर्माण पढेका हुन्। यही वर्षको अन्त्यतिर प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रलाई पदम पुरीले निर्माणमा सहयोग गर्दैछन्।












