Kathmandu Press

वैदिक संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गरिँदै

काठमाडौं, पुस १२ : विश्व हिन्दु महासंघले वैदिक धर्म संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गर्ने भएको छ। विश्वमा रहेका हिन्दु धर्म...
वैदिक संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गरिँदै

काठमाडौं, पुस १२ : विश्व हिन्दु महासंघले वैदिक धर्म संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गर्ने भएको छ। विश्वमा रहेका हिन्दु धर्म संस्कृतिका अनुयायी तथा सङ्घसंस्था र महासङ्घका अन्तर्राष्ट्रिय च्याप्टरसँग समन्वय गरी कोषमा सहयोग सङ्कलन गरिनेछ। 

कोषमा प्राप्त हुने रकमबाट हिन्दु संस्कृतिका सम्पदाका साथै वैभवशाली इतिहास बोकेका धार्मिकस्थलको संरक्षण तथा शिक्षा क्षेत्रको विकासमा विभिन्न अभियान सञ्चालन गरिने महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिए। 

कोषमा हिन्दु अनुयायीबाहेक अन्य धर्मावलम्बीका साथै संस्थाबाट आउने चन्दा तथा सहयोगलाई अस्वीकार गरिनेछ। सन्त, महन्त, गुरुजनको मार्ग निर्देशनअनुसार वैदिक संस्कृति, सभ्यताको विकासमा कार्य योजना बनाएको महासंघले समाजमा विद्यमान रुढीवादी परम्परा अन्धविश्वास, जातीय विभेद र सामाजिक कुरीतिलाई न्यूनीकरण गरी मुलुकलाई हिन्दूराष्ट्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नीति अवलम्बन गरेको छ। 

राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न वैदिक, बौद्ध, जैन, शिख, किराँतलगायत समस्त ओमकार परिवारको सम्मान संरक्षण र संवर्धनका लागि महासंघले बृहत् एकताको कार्यमा भूमिका निर्वाह गर्नेछ।

विश्वका विभिन्न १४ मुलुकमा सञ्जाल विस्तार गरेको महासंघले अन्तर्राष्ट्रिय तहमा बढ्दै गएको धर्मान्तरण र सनातन धर्मावलम्बी माथिको थिचोमिचोविरुद्ध आफ्ना मातहतमा रहेका अन्तर्राष्ट्रिय संस्थालाई सशक्त बनाउने योजना छ। 

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्