आफ्नै भवन बनाउँदै बागलुङ कांग्रेस
गलकोट, पुस १२ : नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएकोे छ । यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान...
गलकोट, पुस १२ : नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएकोे छ । यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरुआत समेत गरेको छ । पहिलो चरणमा कार्य समितिभित्रबाटै आर्थिक सङ्कलन अभियान समेत सुरु भएको छ । हालसम्म सात लाख ६२ हजार १५१ सङ्कलन भएको जनाइएको छ ।
सुरुआती चरणमा जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले रु दुई लाख ५० हजार, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले रु दुई लाख एक हजार १५१, जिल्ला सदस्य तेजेन्द्रविक्रम कुँवरले रु एक लाख, कृष्णबहादुर घिमिरेले रु एक लाख र टीकाराम थापाले रु एक लाख ११ हजार सहयोग गरेका छन्।
आगामी एक वर्ष नसके दुई वर्षभित्रै पार्टीको आफ्नै भवन हुने सभापति जीतबहादुर शेरचनले जानकारी दिए। उनले जग्गा व्यवस्थापनसहित भवन निर्माण गर्ने गरी योजना बनाएर आर्थिक व्यवस्थापनमा लागेको बताए। उनले पार्टीको आफ्नै भवन नहुँदा व्यक्तिका घर भाडामा लिएर पार्टी सञ्चालन गर्दा समस्या भएको जानकारी दिए।
पार्टी कार्यालय सुविधा सम्पन्न हलसहितको हुने उनको भनाइ छ । पार्टीको पहिलो बैठकले सङ्गठनलाई सुदृढीकरण गर्नका लागि जिल्लाका सबै पालिकामा संयोजक तथा सदस्य तोकिएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए। उनका अनुसार बैठकले जिल्लाको अलपत्र खण्ड मध्यपहाडी लोकमार्गलाई छिटो सक्नका लागि ध्यानार्कषण गर्ने निर्णयसमेत गरेको छ ।
जिल्लामा हालसम्म राजनीतिक दलको आफ्नै कार्यालय छैन । भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आइरहेका छन् । नेकपा (एमाले)ले भवन बनाउन शिलान्यास गरेको चार वर्ष बित्दासमेत भवन बन्न सकेको छैन । जिल्लामा सक्रिय सबै राजनीतिक दल व्यक्तिका घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् ।
विभिन्न समय पार्टीले आफ्नै भवन निर्माण गर्ने चर्चा नचालाएका भने होइनन् । बेला–बेलामा यस विषयमा चर्चा नै हुने गर्छ तर केही समयमै सेलाउँछन्।












