Kathmandu Press

भ्रष्टाचार मुद्दामा काठमाडौं बाहिरको जेथा जमानत अमान्य

विशेष अदालतले विगो बापत भ्रष्टाचारीबाट जग्गा जमानतको सट्टा नगदै वा काठमाडौंको चार किल्ला भित्रको घर जग्गा वा बैंक जमानत मात्र लिने भएको छ।
भ्रष्टाचार मुद्दामा काठमाडौं बाहिरको जेथा जमानत अमान्य

काठमाडौं, पुस १२ : विशेष अदालतले विगो बापत भ्रष्टाचारीबाट जग्गा जमानतको सट्टा नगदै वा काठमाडौंको चार किल्ला भित्रको घर जग्गा वा बैंक जमानत मात्र लिने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारका मुद्दा दायर गरेपछि दलाल र विचौलिया सलबलाउने गर्थे। कतिपय दलालको त भ्रष्टाचार मुद्दा चलेपछि भाग्य नै चम्किन्थ्यो। विशेष अदालतले भ्रष्टाचारको विगोको अनुपातमा मूल्याङ्कन गरी अभियुक्तलाई धरौटी तारिखमा छाड्ने प्रयोजनका लागि नगदै, बैंक जमानत वा जेथा माग्ने गर्छ।

भ्रष्टाचारको आरोप लागेको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिसँग स्पष्टीकरण, सोधपुछ वा बयान लिइसकेपछि त्यस्तो व्यक्तिलाई आवश्यकता अनुसार खोजेको बखत हाजिर हुने कागज गराई छाड्ने वा तारेखमा राख्ने अधिकार इजलासलाई छ। तर त्यस्तो राष्ट्रसेवक व्यक्ति फरार भई बेपत्ता हुनसक्छ भन्ने मनासिव कारण भएमा वा विगो हानीनोक्सानी भएको देखिएमा निजसँग प्रचलित कानुन बमोजिम धरौटी वा जमानतमा तारेखमा छाड्न सकिने कानूनी व्यवस्था छ।

Hardik ivf

यही व्यवस्थाको आडमा विचौलिया र दलालले आरोपित व्यक्तिका आफन्त र आसेपासेसँग मिलेमोतो गर्दै काठमाडौंको छिमेकी जिल्लाका विकट ठाउँको जग्गा धितोका लागि चलखेल गर्ने गर्थे। काभ्रे, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, र सुवालगायतका जिल्लाको जग्गा जेथा जमानतमा बार्गेनिङ नै चल्थ्यो।

यस्तो मिलाईदिए बापत दलाल र विचौलियालाई निश्चित प्रतिशत कमिशनको खेलसमेत हुने गर्थ्यो। कतिपय अभियुक्तको जेथा जमानतको मूल्याङ्कन र अनुगमन गर्न जाँदा कच्चि मोटर बाटोसमेत नभेटिएपछि अदालत सचेत बनेको हो।

भ्रष्टाचारको करोडौं विगो बापत जेथा जमानत असुल गर्दा कमसल पाखो, भिर, बारी, बगर, डगर, सडकको भित्तो, अनकण्टार बाँझो, चहार हात लाग्ने स्थिति थियो। यो समस्याले भ्रष्टाचारबाट विगो असुल्न राज्यलाई हैरानी हुने अवस्था थियो।

विचौलियाले फेसबुक लगायर सामाजिक सञ्जालमा जेथा जमानतको काम गर्ने भनेर विज्ञापनसमेत गर्दै आएका थिए। खल्तिमै लालपुर्जा र नक्सा बोकेर अदालत परिषरबाटै भ्रष्टाचारीका आफन्तसँग मिलेर काम फत्ते गरिन्थ्यो। अब भने विशेष अदालतले विगो बापत भ्रष्टाचारीबाट जग्गा जमानतको सट्टा नगदै वा काठमाडौंको चार किल्ला भित्रको घर जग्गा वा बैंक जमानत मात्र लिने भएको छ।

विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले अबाञ्छित गतिविधि र बेथिति रोक्न धरौटी बापतको जेथा जमानतमा कडाई गरिएको जानकारी दिए। ‘विशेष अदालतले नगद, काठमाडौंको जग्गा वा बैंक ग्यारेन्टी मात्र धरौटीमा स्विकार गर्ने निर्णय लिएको छ,’ रजिष्ट्रार क्षेत्रीले काठमाडौंप्रेससँग भने, ‘अदालत परिषरमा अबाञ्छित र शंकास्पद गतिविधिका गुनासाहरु आएपछि बेथिति रोकेर न्यायिक कामकारबाहीलाई चुस्त दुरुस्त राख्न यस्तो कदम उठाइएको हो।’

क्षेत्रीले अदालतको निर्णयबाट विचौलिया तत्व निस्तेज भई सुशासन कायम हुने विश्वाससमेत व्यक्त गरे। कोरोना संक्रमणका कारण गरिएको न्याय संकुचन अन्त्यलगत्तै अदालतले उक्त कदम चालेको उनले जानकारी दिए।

अदालतले जेथा जमानतमा कडाई गरेपछि निश्चित कमिशनको लोभमा राज्यको सर्वसंचिती कोष स्वाहा पार्ने विचौलिया र दलाल फेरि चलखेलमा लागेका छन्। अदालतका एक फाँटवाला कर्मचारीका अनुसार प्रतिबादीका वकील लगाएर विचौलियाले निर्णय परिवर्तन गर्न अदालतमाथि दबाब दिइरहेका छन्।

‘अदालतको कदमले आम्दानीको स्रोत सुकेपछि निर्णय फुकाउन अनेक किसिमका दबाब आइरहेका छन्,’ ति फाँटवालाले भने, ‘प्रतिवादीका ठूला वकीलसमेत निर्णय फेर्नका लागीपरेका छन्। तर संभावना छैन।’

प्रकाशित मिति: ०६:५२ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्