Kathmandu Press

एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

सुदूरपश्चिम, पुस ११ : विभागीय टोली एपिएएफ क्लबले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपिएफले प्रदेश नं १...
एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

सुदूरपश्चिम, पुस ११ : विभागीय टोली एपिएएफ क्लबले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपिएफले प्रदेश नं १ लाई सात विकेटले हराउँदै उपाधि चुमेको हो।

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा प्रदेश नं १ लाई सात विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको च्याम्पियन बनेको हो। उपाधि जितेसँगै एपिएफले रु पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको प्रदेश १ ले रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्‍यो। फाइनलमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनायो।

 प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी वेगमले ११ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन्। बलिङतर्फ एपिएफका लागि सीता रानामगरले तीन र रेखा रावलले दुई विकेट लिइन्। ६८ रनको विजयी लक्ष्य एपिएफले १४ दशमलब दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो। एपिएफका लागि ज्योति पाण्डेयले अविजित ३७ तथा ममता चौधरीले १७ रन बनाइन्।

बलिङतर्फ प्रदेश १ की कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन्। एपिएफ की सीता रानामगर ‘प्लेयर अफ दी म्याच’ तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी प्रदेश १ की कप्तान रुविना क्षेत्री घोषित भइन्। क्षेत्रीले पाँच खेलमा १५७ रन बनाउनुका साथै आठ विकेटसमेत लिएकी थिइन्। यस्तै दुई अर्धशतकसहित १७६ रन बनाएकी अप्सरी वेगम उत्कृष्ट ब्याट्सवुमन घोषित भइन्। नेपाल क्रिकेट सङ्घ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको संयुक्त आयोजनामा यही पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र एक विभागिय टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्