Kathmandu Press

केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षामा छलफल

केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षामा छलफल

काठमाडाैं, पुस ११ : गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सुरक्षासहित मुलुकको समग्र शान्ति सुव्यवस्थाका विषयमा समीक्षा र विश्लेषण गरिएको छ।

गृह मन्त्रालयमा आज भएको समिति बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए। राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गते १९ सदस्य पदका लागि हुँदैछ। उक्त निर्वाचनका लागि मुलुकका विभिन्न प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्र तोकिएको छ।

Hardik ivf

राष्ट्रियसभा निर्वाचन र आउँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने सन्दर्भमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। सुरक्षाका बहुआयामिक पक्षको व्यवस्थापन गर्ने र निर्वाचनको तयारीस्वरूप सुरक्षा प्रबन्ध मिलाउन समितिको बैठक बसेको उनले बताए।

बैठकमा रक्षा मन्त्रालय सचिव वेगेन्द्र शर्मा पौड्याल, गृह मन्त्रालयका सचिव पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र गृह प्रवक्ता कोइरालालगायतको सहभागिता थियो।

प्रकाशित मिति: १८:५३ बजे, आइतबार, पुस ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्