Kathmandu Press

सर्वसाधारणका लागि गद्दी बैठक खुला गरिँदै

काठमाडौँ, पुस ११ : यही पुस १६ गतेदेखि सर्वसाधारणका लागि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक खुला हुने भएको छ। भूकम्पका कारण आंशिक क्षति...
सर्वसाधारणका लागि गद्दी बैठक खुला गरिँदै

काठमाडौँ, पुस ११ : यही पुस १६ गतेदेखि सर्वसाधारणका लागि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक खुला हुने भएको छ। भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ। मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो।

ग्यालरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनीतिक परिवर्तका विषय समेटेर विभिन्न कालखण्डका लिखित दस्तावेज राखिने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी गराएको छ। यस अवधिका प्राप्त गर्ने सके जतिका फोटो पनि अवलोकनका लागि ग्यालरीमा राख्ने तयारी भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।     

उक्त ऐतिहासिक कागजात विद्यार्थी, अवलोकनकर्ता र अनुसनधानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास अड्डाको रहेको छ। जिर्णोद्धारपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले केही समय लागेको बताइएको हो। ‘सांस्कृतिक धरोहर’समेत रहेको बैठक सर्वसाधरणका लागि खुला हुँदा यसको झनै महत्व बढ्ने आशा गरिएको छ। भूकम्पबाट क्षति भएको गद्दी बैठकको तीन वर्षअगावै जीर्णोद्धार सकिएको सम्पन्न भएको थियो।

Hardik ivf

गद्दी बैठक काठमाडौँ दरबार क्षेत्रमा अवस्थित छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक छन्। त्यस क्षेत्रमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत महत्वपूर्ण स्मारक रहेका छन्।  

अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले जिर्णोद्धार गरेको गद्दी बैठक २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो। सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गरेका थिए। तत्कालीन समयमा विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो।

सुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो। राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो। हाल यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ। सन् १९०८ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित यो बैठक सर्वसाधारणले यसअघि अवलोकन गर्न पाएका थिएनन्। भ्रमण वर्ष, २०२० लाई लक्षित गरेर खुला गरिए पनि विश्वभरि फैलिएको कारोनाका कारण  अवलोकन गर्न नपाई पुनः बन्द गरियो। मर्मतपछि बैठकको भुइँतलामा सङ्ग्रहालयसमेत बनाइएको छ भने उक्त सङ्ग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तुका साथै विशेषगरी वसन्तपुरमा रहेको ऐतिहासिक सामग्रीको चित्र र त्यसको बारेमा विवरणसमेत राखिने छ।

वसन्तपुर क्षेत्रमा हुने गरको जात्रा पर्वको बारेमा पनि उक्त स्थानमा जानकारी राखिने छ। त्यसैगरी “५० वर्ष अघिको अनुमान ढोका” भन्ने शीर्षकमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ५० वर्ष अघिको उक्त स्थानका फोटो प्रदर्शन गर्न लागिएको छ।

इन्टरनेटबाटै गर्नुस् वसन्तपुरको अवलोकन

कुनै पनि स्थानको अवलोकन गर्नका लागि उक्त स्थानमा नै पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै हनुमान ढोका दरबार क्षेत्रले विश्वको जुनसुकै स्थानबाट पनि उक्त ऐतिहासिक स्थानको अवलोकन गर्न सक्ने व्यवस्थाको तयारी थालेको छ।  

आमनागरिकले उक्त व्यवस्थाको प्रयोग यही पुस १२ गतेबाट गर्न सक्नेछन्। पहिलो पटक अभ्यास गर्न लागिएको उक्त व्यवस्थाको सुरुमा अनलाइन अवलोकन गरेवापत कुनै पनि शुल्क लाग्ने छैन। कोरोनाका कारण राम्रोसँग विगत दुई वर्षदेखि अवलोकनकर्ताले वसन्तपुर क्षेत्रको अवलोकन गर्न पाएका छ्रैनन्। यसरी लामो समयसम्म महत्वपूर्ण र ऐतिहासिक सम्पदाको अवलोकन गर्न नपाउँदा जनगुनासो बढेपछि अड्डाले भर्चुअल आध्ययमबाट हेर्न सकिने व्यवस्था गर्न लागेको हो।

त्यति मात्रै होइन यही पुस १ गतेदेखि अवलोकनकर्ताको सहजताका लागि भन्दै अड्डाले यस क्षेत्रको अवलोकनका लागि अनलाइन टिकटको पनि व्यवस्था गरेको छ। पहिलो पटक यसरी अभ्यास गरिएकाले अनलाइनबाट टिकट काट्नेको सङ्ख्या भने अत्यन्तै कम रहेको बताइएको छ।

प्रकाशित मिति: १८:३४ बजे, आइतबार, पुस ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्