सर्लाहीमा सवारी दुर्घटनामा दुईको मृत्यु
सर्लाही, पुस ११ : सर्लाहीमा शनिबार राति छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने...
सर्लाही, पुस ११ : सर्लाहीमा शनिबार राति छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ।
मलंगवा-नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ। बाटो काट्ने क्रममा शनिबार साँझ खातुनलाई साइकलले ठक्कर दिएको थियो।
घाइते खातुनको जनकपुरमा उपचारका क्रममा गएराति ९ः३० बजे मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
साइकल चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। उता पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा नम्बर नखुलेको एक सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
ना३४प ७०२१ नम्बरको मोटरसाइकलको पछि बसेका लालबन्दी नगरपालिका-७ बस्ने ५७ वर्षीय भीम गुरुङको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवामा पुर्याइएको थियो। उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।












