Kathmandu Press

सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

पर्वत, पुस ११ : कुश्माबजारमा निर्माण भएको सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ।कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म...
सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

पर्वत, पुस ११ : कुश्माबजारमा निर्माण भएको सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ।

कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन १ जनवरीदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सबै परीक्षण सकेर एक हप्ताभित्रमा जीपलाइन सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको हार्नेस जीपलाइन प्रालिका कार्यकारी प्रमुख सुनिल बानियाँले जानकारी दिए। प्राविधिक परीक्षणका काम भइरहेको बताउँदै उनले यसलाई सबै सकेर एक हप्ताभित्रमै सञ्चालन गर्ने तयारीमा भइरहेको बताए। पछिल्लो समय यहाँ साहसिक खेलको गन्तव्य बन्दै गएको छ।

जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ। जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो।

निर्माण कम्पनीका इञ्जीनियर नवीन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जीपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ।

कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ।

जीपलाइनसँगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ। रिर्सोटसँगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य साहसिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताए। (रासस)

प्रकाशित मिति: ०८:४३ बजे, आइतबार, पुस ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्