एमसिसी देशको हितमा रहेकाले परिमार्जनसहित अघि बढाउने तयारी भइरहेकाे छ : ‘प्रचण्ड’
काठमाडौं, पुस १० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना देश र जनताको हितमा रहेकाले...
काठमाडौं, पुस १० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना देश र जनताको हितमा रहेकाले परिमार्जनसहित अघि बढाउने तयारी भइरहेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्वाधारका लागि आएको पैसा फिर्ता हुन नदिने रणनीति पार्टीले लिएको बताए। ‘सर्वदलीय बैठक बसेर छलफल भएको छ। त्यसबाट एक कार्यदल गठन गरी प्रतिवेदन बुझाउन भनेका छौं। सोहीअनुसार अघि बढ्ने र पूर्वाधारका लागि आएको पैसा फिर्ता हुन नदिने रणनीति बनाएका छौं,’ उनले भने ।
तर एमसिसी अघि बढ्न नदिने रणनीतिमा एमाले रहेको जिकिर उनले गरे। ‘एमालेको उद्देश्य भनेको गठबन्धन टुटाउने र एमसिसी अघि बढ्न नदिने रणनीति हो भन्ने मैंले बुझ्या छु,’ उनले भने। प्रमुख प्रतिपक्षी दल भएर पनि एमालेले सदनमा गाइजात्रा देखाएर लोकतन्त्र विरोधी गतिविधि गरिरहेको आरोप लगाए।
उनले एमालेलाइृ लक्षित गदैृ प्रतिक्रान्ति र प्रतिगमन परास्त गर्न सकिएकोमा गर्व लागेको भए पनि फेरि ती कुराले टाउको उठाउन सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरे। पाँच दलीय गठबन्धनको बलमा सर्वोच्च अदालतको आदेश अनुसार प्रतिक्रान्तिकारी र प्रतिगमनकारीलाई बालुवाटार र प्रदेशबाट पनि हटाएको दाबी गरे।
उनले आफ्नो पार्टीको सम्मेलन पृथक बनाउने तयारी भइरहेको जानकारी दिए। माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन भोलि सुरु हुँदैछ।











