Kathmandu Press

प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि : गृहमन्त्री खाँण

लुम्बिनी, पुस १० : गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताएका छन्।उनले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि...
प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि : गृहमन्त्री खाँण

लुम्बिनी, पुस १० : गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताएका छन्।

उनले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएर मानिसको जीवन लम्ब्याउने सन्दर्भमा बिरामीलाई पुर्नजीवन दिनेक्रममा आश्चर्यजनक उपलब्धि हासिल भए पनि गरिबीको संख्या भने बढ्दै गएको बताए।

बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौं स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उनले नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताए। 

उनले स्वास्थ्य क्षेत्रको विकासमा यो आशालाग्दो र त्यही आशाभित्र कहाली लाग्दो अवस्था रहेको जनाउँदै यसका लागि निजी क्षेत्रको प्रवर्धनमा सरकार सहयोगी बन्न जरुरी रहेको उल्लेख गरे। उनले नेपालको राज्य प्रणाली पनि हरेक क्षेत्रको निजी क्षेत्रलाई प्रवर्धन गर्ने पक्षमा रहेको स्पष्ट पारे। उनले २०४६ को बहुदलीय व्यवस्था स्थापनासँगै जुनसुकै पार्टीको सरकार भए पनि मुलुकमा उदारवादी अर्थनीति अवलम्बन भएको र यो उदारवादी अर्थनीतिको विकल्प दिन नसकिएको बताए।

गृहमन्त्री खाँणले जनताले चाहेको जस्तो मुलुकको आधुनिकीकरणका लागि बहुआयामिक दायित्व पूरा गर्न सरकारले मात्र नसक्ने भएकाले जनतासँग रहेको साधन, स्रोत, सम्पत्ति, ज्ञान समाज र मुलुकको विकासका लागि प्रयोग गर्न जरुरी रहेको सुनाए। उनले भने, ‘यो विश्वको नयाँ ट्रेन र बाध्यता पनि हो।’ 

उनले सरकारले निजी क्षेत्रको प्रवद्र्धनसँगै गैर मुनाफायुक्त संस्थालाई पनि सरकारले स्थापित गर्न, हुर्काउन र बचाउन आवश्यक रहेको बताए। उनले बुटबल आफ्नै इतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने र सबैको साझा प्रयत्नबाट अब्बल बनाउन सकिएको बताए।

गृहमन्त्री खाँणले गौतमबुद्ध सामूदायिक अस्पतालका लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै आफूले सरकारकातर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले विकासको गतिलाई कसरी अगाडि बढाउने भन्ने विषय सबै जनप्रतिनिधिको मूल दायित्व रहेको बताए। अर्का प्रदेशसभा सदस्य विष्णु पन्थीले कतिपय सरकारी नियम र कार्यविधि नै विकासका बाधक बन्ने गरेकाले सरकारले त्यस्ता नीतिनियम र कार्यविधि परिमार्जन गर्न आवश्यक रहेको बताए। 

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८०० श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरु तयार रहेकाले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसामु आग्रह गरे।

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्