कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने
काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय...
काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।
गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन्। यसबाहेक नयाँ विधानअनुसार केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्न बाँकी छ ।
‘निर्वाचित भएको प्रमाण पत्र’ वितरणका लागि सबै पदाधिकारी र सदस्यलाई खबर गरिसकेको र सो कार्यक्रमपछि पार्टी कार्यालयको ठूलो हलमा नै केन्द्रीय कार्यसमिति बैठक बस्ने उनले बताए। तेह्रौँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय समिति ८५ सदस्यीय थियो ।
बैठकमा सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ । कांग्रेसले बैठकको निर्णयसहित शनिबार नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने सचिव रिजालले बताए।











