‘निर्वाचनको समयमा सञ्चारमाध्यमले विशेष भूमिका खेल्नुपर्छ’

काठमाडाैं, पुस ९ : निर्वाचन संचालन र व्यवस्थापन सम्बन्धि महिला पत्रकारहरुसंग कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा गलत एवम भ्रामक सूचना, मिथ्या समाचार र घृणाजन्य अभिव्यक्ति, समस्या र समाधानको विषयमा तीन दिने कार्यशाला शुक्रबार सम्पन्न भएको हो।
कार्यशालामा ‘निर्वाचनको समयमा मिडियाले कस्तो भूमिका खेल्छ ?’ भन्ने विषयमा प्यानलमा छलफल भएको हो । समग्र निर्वाचन विधि र प्रक्रिया बारे आम मानिसमा चेतना दिने माध्यम मिडिया रहेकाले मिडिया र पत्रकारले विशेष भुमिका निभाउनु पर्ने निर्वाचन आयुक्त डा जानकी कुमारी तुलाधर बताउछिन । उनका अनुसार अधिकतम मत सदर र न्यून मत बदरका लागि मिडियाको अहम भुमिका रहन्छ।
राजनीति क्षेत्रका महिलाका अनुभव, सहज र चुनौतिका विषयमा नीतिगत रुपमा राजनीति क्षेत्रमा महिलाकाे मुद्दा कसरी उठाइनु पर्छ भन्नेमा सदैव सञ्चारिका समुहले कार्यक्रमहरु गर्दै आएको सञ्चारिका समुहका अध्यक्ष नितु पण्डितले बताइन् । उनले निर्वाचनको समयमा महिला पत्रकारको सुरक्षाको विषयमा हरेक सञ्चार माध्यमको ध्यान जानुपर्ने बताइन्।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया सत्य तथ्य र निष्पक्ष सूचना प्रकाशन र प्रसारण गर्नु मिडियाको दायित्व रहेको बताउँछन्।
निर्वाचनको समयमा मतदान गर्ने वातावरण सरल, सफल र सभ्य ढंगले सम्पन्न गर्न मिडियाको अहम भुमिका रहेको पत्रकार महासंघका अध्यक्ष बिपुल पाेख्रेलले बताए। राज्यको संयन्त्रलाई निर्वाचनको समयमा हुने अनावश्यक भड्किलो र, खर्चिलो कम गरि निर्वाचन पद्धतिलाई व्यवस्थापन र सुधारको वतावरण निर्माण गर्नुपर्ने उनले बताए । निर्वाचनको समयमा मिडिया र निर्वाचन आयोग समन्वय गरेर अनुगमन गर्नुपर्ने उनको सुझाव छ।
त्यस्तै, आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेल निर्वाचन आयोग सदैव उत्तरदायी रहेको बताउछन् । आम नागरिकलाई निर्वाचन आयोगका बारेमा सुसूचित गराउने संस्कृतिले आयोग मिडिया भन्दा पर नरहेको उनी बताउँछन् । निर्वाचन आयोग सदैव महिला र अन्य समुदायप्रति सकारात्मक रहेको उनले बताए ।
मिडिया र पत्रकार सधै निर्वाचन आचारसंहिता पालना गर्ने र गराउनेमा ध्यान दिनुपर्नेमा शर्माले जाेड दिए । लैंगिक हिंसाको विषयमा विशेष ध्यान दिदै सजकताका साथ जनमानसान सहि सुचना परिचालन गर्नुपर्ने उनले बताए । आयोगका बारेमा जानकारी लिनका लागि वेभसाइड र एपबाट लिन सकिने उनले जानकारी दिए ।
अबको निर्वाचनमा लैगिंक अनुगमन हुन आवश्यक रहेकाले आयोगले केही कार्यक्रम गर्नु आवश्यक रहेको नितु पण्डितले बताइन् । लिपुलेक, लिम्पियाधुरा र कालापानीको मतदाताको नामावली रेकर्डको सन्दर्भमा सरकारको श्रोतसाधनमा भरपर्ने प्रवक्ताले जानकारी दिए ।











