दुबईमा मृत्युदण्ड पाएका श्रीमानको सोह्र वर्षदेखि प्रतीक्षा
काठमाडौं, माघ १९ : पर्खाईको पीडा पर्खिनेलाई मात्रै थाहा हुन्छ – जस्तै, धनिसालाई ।
धनिसाले श्रीमान्लाई पर्खेको १६ वर्ष भयो । तर न श्रीम....
काठमाडौं, माघ १९ : पर्खाईको पीडा पर्खिनेलाई मात्रै थाहा हुन्छ – जस्तै, धनिसालाई ।
धनिसाले श्रीमान्लाई पर्खेको १६ वर्ष भयो । तर न श्रीमान् आए, न श्रीमान्को कुनै राम्रो खबर । तैपनि, उनले हरेस खाएकी छैनन् । कुनै दिन त पक्कै श्रीमान् आउँलान् भन्दै पर्खिबसेकी छिन् ।
धनिसाकी श्रीमान् अमर बम २०५८ सालदेखि दुबईको एक जेलमा कैद छन्, मृत्यु कुर्दै । भारतीय व्यापारी शरद शेट्टीको हत्यामा संलग्न भएको भन्दै उनलाई दुबईको अदालतले त्यहीँ बेला मृत्युदण्ड सुनाएको थियो ।
तर, शेट्टीको हत्या गर्ने दुई भारतीय शुटरले अमर आफूहरूको ड्राइभरमात्रै रहेको र उनलाई घटनाको पूर्व जानकारी नभएको बयान दिए । त्यसपछि अमर निर्दोष रहेको भन्दै उनको जीवन रक्षाका लागि विभिन्न संघसंस्थाले अपिल गरे । नेपाल सरकार र नेपाली नेताहरूले औपचारिक–अनौपचारिक रुपमा पटक–पटक दुबईका शेखलाई अमरलाई रिहा गर्न आग्रह गर्याे ।
विगत १६ वर्षमा अमरका बुबा कर्णबहादुर १६ पटक नै काठमाडौं पुगे । सुशील कोइराला देखि पुष्पकमल दाहालसम्म र बाबुराम भट्टराईदेखि केपी ओलीसम्मका नेतालाई हारगुहार गरे । अहिले त उनी थाकिसके ।
‘अमर बचाऊ अभियानले’ मृत्युदण्डको फैसला कार्यान्वयन त पछि धकेल्यो, तर उनलाई जेलबाट निकालेर नेपाल फर्काउन चाहिँ सकेन ।
अमरकी श्रीमती धनिसा अहिले ३२ वर्षकी भइन् । १४ वर्षकै हुँदा उनको विवाह अमरसँग भएको थियो । विहे गरेको तीन सातापछि नै अमर कामका लागि भारत गए । उतैबाट दुबई पुगे । उनी जसका लागि गाडी चलाउँथे, उनको सम्बन्ध भारतीय गैंगस्टरहरूसँग रहेछ । उनीहरूले अण्डरवल्र्ड डन दाउद इब्राहिमको सहयोगी शेट्टीको हत्या गरे । र, फसे – अमर ।
विहेअघि धनिसाको अमरसँग राम्रो चिनजान पनि थिएन । विहेपछि राम्रो बोलचाल हुन नपाउँदैै अमरले घर छाडे । धनिसालाई अमरको अनुहार पनि राम्रो याद छैन । तैपनि, उनी अमर फर्की आउने आशमै छिन् ।
उनी भन्छिन्, “यतिका वर्ष कुरेर बसेँ, अब अर्को जिन्दगी सुरु गर्ने मन छैन ।”
घर नफर्के पनि अमरले बेलाबेला जेलबाटै धनिसालाई फोन गर्छन् । सञ्चो बिसञ्चो सोध्छन् । उनी बारम्बार एउटै आग्रह दोहोर्याउँछन् – “अहिलेसम्म कुर्यौ, अझै केही वर्ष कुर है ! आमाबुबाको ख्याल गरी बस । फर्कन पाए भने सँगै रमाउँला ।”