Kathmandu Press

पुनर्निर्माणका प्राधिकरणलाई प्रधानमन्त्रीकाे निर्देशन– बाँकी काम समयमै सक्नुहोस्, बजेटको कमी हुन्न

काठमाडौं, पुस ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आज (बुधबार) बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको...
पुनर्निर्माणका प्राधिकरणलाई प्रधानमन्त्रीकाे निर्देशन– बाँकी काम समयमै सक्नुहोस्, बजेटको कमी हुन्न

काठमाडौं, पुस ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

आज (बुधबार) बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा उनले बाँकी कामका लागि बजेटको कुनै कमी नहुने प्रतिबद्धता पनि व्यक्त गरे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले नेपालको पुनर्निर्माणमा सहयोग पुर्‍याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद पनि दिए। 

२०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा विस्थापित परिवारहरुको पुनर्स्थापनासम्बन्धी कार्य सफलतापूर्वक सम्पन्न गर्ने चरणमा 
पुर्‍याएको भन्दै समितिले प्राधिकरणको नेतृत्वलगायत सम्बन्धित सबैलाई धन्यवाद दिएको छ।

बैठकमा निर्देशक समितिका उपाध्यक्ष रहेका एमालेका नेता सुवास नेम्वाङले पुनर्निर्माणका अनुभव र सिकाइलाई संस्थागत सम्झनामा राख्न सुझाए। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणबाट प्राप्त उपलब्धिबारे जानकारी गराए। उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विशिष्ट कानुनी अधिकारसहित आवश्यक वित्तीय व्यवस्थापनका साथै जनशक्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए।

निर्देशक समितिको आजको बैठकले प्राधिकरणअन्तर्गत भइरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, स्रेस्ता, कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायमार्फत सम्पादन भइरहेका पुनर्निर्माण तथा पुनःसंस्थापनसम्बन्धी कार्यको सहजीकरण, समन्वय तथा अनुगमनसम्बन्धी कार्य अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएको छ।

त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको चालू र पुँजीगत खर्चको आव २०७८÷७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखापरीक्षणसम्बन्धी कार्यको जिम्मेवारी पनि यसै प्राधिकरणलाई दिइएको सो अवसरमा जानकारी गराइएको थियो। साथै विश्व बैंकसँगको सम्झौताबमोजिम कार्यान्वयन भइरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदनसम्बन्धी कार्य पनि अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्ने जनाइएको छ।

प्राधिकरणका अनुसार हाल पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी सङ्ग्रहालयअन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ भने पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौँ महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण हुनेछ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन), केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९शिक्षा० र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० अन्तर्गत सम्बन्धित स्रेस्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा गत भदौ अन्तिम साता नै हस्तान्तरण भइसकेका छन्।

बैठकले गत मङ्सिर २१ देखि २३ गतेसम्म भौतिक एवं विद्युतीय माध्यमबाट काठमाडौँमा सम्पन्न भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ कोभिड–१९ को महामारीका बीचमा समेत अत्यन्त सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गरेको छ। 

सम्मेलनमा भौतिकरुपमा उपस्थित भएर वा विद्युतीय माध्ययमबाट सम्बोधन गर्नुभएका विभिन्न मुलुकका विदेशमन्त्री, मन्त्री, उपमन्त्रीलगायतका प्रतिनिधि तथा विभिन्न द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायका विशिष्ट पदाधिकारी तथा प्रतिनिधिलाई धन्यवादसमेत दिइएको छ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, मुख्यसचिव शङ्करदास बैरागी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, पुनर्निर्माण प्राधिकरण एवं विभिन्न मन्त्रालयका सचिव, निर्देशक समितिका सदस्य, प्राधिकरणका कार्यकारी समिति सदस्य लगायतको उपस्थिति थियो।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३९३० को व्यवस्था तथा सोअनुरुप नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ मङ्सिर १५ गतेको निर्णयानुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल यही पुस ९ गतेदेखि सकिँदैछ।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्