एमालेको अवरोधबीच चार विधेयक पारित, अर्को बैठक पुस १८ गते
प्रतिनिधिसभामा प्रस्तुत ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ पारित गरिएको हो।
काठमाडाैं, पुस ७ : चारवटा विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित भएको छ। अर्को बैठक पुस १८ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभामा प्रस्तुत ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ पारित गरिएको हो।
सभामुखले सापकोटाले पटकपटक आग्रह गर्दा पनि नाराबाजी गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले बैठकमा अवरोध सिर्जना गर्न छाडेनन्। त्यसपछि अवरोधबीच सभामुख सापकाेटाले संसदका नियमित कामकारबाही अघि बढाएका थिए।
एमालेले आफ्नो पार्टीमा हुँदा कारबाही सिफारिस गिरएका हाल नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही नगरेसम्म संसद बैठक अवरुद्ध पार्ने अडान राख्दै आएको छ। एमालेले संसदमा गत भदाैदेखि लगातार अवरोध गर्दै आइरहेको छ।
कार्यसूचीअनुसार विधेयक पेस र त्यसमाथिको छलफललाई निरन्तरता दिइएको थियो। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले ती चारैवटा विधेयक अस्वीकार गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
उनले उठाएका सवालहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८’ स्वीकृत गरियोस् भनी प्रस्ताव गरेका थिए।
सांसद सुवालले उठाएको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८’ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
एमाले सांसदहरुले गरेको अवरोधबीच सभामुख सापकोटाले ती विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। सदनमा बहुमत जुटेपछि ती चारैवटा विधेयक पारित भएका थिए।
प्रतिनिधिसभाको चालु दसौं अधिवेशनका बैठक विरोधकै बीच सञ्चालन हुँदै आएको छ। यसअघि पहिलो बैठकमा एमाले अवरोधका बीच ६ वटा अध्यादेश पारित भएका थिए। त्यस्तै मंगलबार बसेको दोस्रो बैठकले दुई अध्यादेश बहुमतबाट स्वीकृत गरेको थियो।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


