कांग्रेसको नयाँ नेतृत्व चुन्न प्रदेश २ मा मतदान हुँदै
नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ।
जनकपुर, पुस ७ : नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ। निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
सहमतिमा नेतृत्वको टुङ्गो लगाउने प्रयास असफल भएपछि छुट्टाछुट्टै प्यानल बनाइ उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।
संस्थापन समूहबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ तथा सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै संस्थापन इतर समूहबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीकै हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
प्रदेश २ का आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।








![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)


