Kathmandu Press

एमसिसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन् : एमाले उपाध्यक्ष पाण्डे

चितवन, पुस ५ : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताएका छन्।प्रेस चौतारी नेपाल चितवन शाखाले आज (सोमबार) आयोजना गरेको पत्रकार...
एमसिसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन् : एमाले उपाध्यक्ष पाण्डे

चितवन, पुस ५ : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताएका छन्।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने गरेको बताएको हुन्। 

पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले एमसिसीका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि सर्त हुने बताए। उनले भने, ‘कतिपयले नबुझेर टीकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिनासर्त आउँदैन।’ 

अन्य विभिन्न देशबाट ऋण र अनुदान लिँदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिनेगरी लिने गरेको उनको भनाइ छ। पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिना सर्त आउँछ भन्ने भान परेको बताए।

एमसिसीमा पनि सर्त रहेको भन्दै उनले ती सर्त देशको हितमा छ भने मान्न पर्ने र हितमा छैनन् भने मान्न नहुने बताए। एमसिसिको विषयमा टिप्पणी गर्दै उनले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने बताए। 

अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उनको चिन्ता थियो । यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढंगले समस्याको सम्बोधन गर्नुपर्ने पाण्डेको भनाइ छ।


यद्यपि सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उनको आरोप छ। देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको भन्दै उनले यसको समाधान निर्वाचन नै भएको दाबी गरे।

पत्रकार सम्मेलनमा पाण्डेले एमालेभित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पारेका थिए। 

प्रकाशित मिति: १६:३० बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्