Kathmandu Press

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

रसुवा, पुस ४ : उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ।आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९...
रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

रसुवा, पुस ४ : उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ।

आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो।

Hardik ivf

आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान गर्न जिम्मा पाएको भारतीय कम्पनी भोइथ इण्डियाले धेरै लामो समयपछि दक्ष जनशक्ति उपलब्ध गराएलगत्तै उपकरणको जडान अगाडि बढेको छ। उपकरण जडान गर्न करिब एक वर्षको समयावधि लाग्ने र सन् २०२२ सम्ममा आयोजनाले विद्युत् उत्पादन गर्ने कार्य तालिका रहेको उनले जानकारी दिए।

सन् २०१३ बाट शुभारम्भ भएको आयोजनले विद्युत्गृहमा पानी पठाउने चार हजार १८५ मिटर लामो हेडरेस सुरूङ एवं विद्युत् गृह निर्माणको संरचना निर्माण गरिसकेको छ। विद्युत्गृहमा पानी लान भोटेकोसीको बाँध बाँध्ने कामसमेत निर्माण सम्पन्न गरी पानी बालुवा थिग्य्राउने भूमिगत डिसेण्डर पोखरी भने निर्माणको चरण अन्तिम चरणमा रहेको जनाइएको छ।

गतहप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थलगत निरीक्षण एवं छिटो कार्य सम्पन्न गर्ने निर्देशनपश्चात उपकरण जडानका लागि भोइथ इण्डियाले दक्ष जनशक्ति उपलब्ध गराएको छ।

उपकरण जडानका लागि ४० जनाभन्दा बढी जनशक्तिले दैनिक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म काम गरिरहेका छन् । आयोजनाको सर्चटैङ्क भने भित्रिभागबाट निर्माण भइरहेको बताइएको छ। (रासस)

प्रकाशित मिति: ०७:२५ बजे, आइतबार, पुस ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्