Kathmandu Press

२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

पर्वत, पुस ३ : मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ। निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन सुरु गरेको हो।

कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरु गरेको जनाएको छ। तीन अर्ब ६० करोड रूपैयाँ लागत अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको थियो। भूकम्प, नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा करिब चार वर्ष पाँच महिना ढिला उत्पादन थालिएको हो।

Hardik ivf

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ। करिब ५०० मिटर टाढा रहेको मोदीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएको हो। समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि खर्चबारे आयोजना पक्षले जानकारी सार्वजनिक गरेको छैन।

आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भई नसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिए। विसं २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो। समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजना पक्षले बताएको छ।

टनेल र पावर हाउसलगायतका संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति दुई वर्षपछि सरेको थियो। विसं २०७२ को भूकम्प, स्थानीयवासीको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा टनेलमा पानी चुहिएपछि उत्पादन मिति थप दुई वर्षपछि धकेलिएको हो।

आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभी ए प्रसारण लाइनको सबस्टेसन मार्फत राष्ट्रिय प्रसारणमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले बताए। योसँगै मोदीखोलामा तीन जलविद्युत् आयोजना सञ्चालमा आएका छन् भने थप तीन चार आयोजना निर्माणाधीन अवस्थामा छन्।

प्रकाशित मिति: १८:३३ बजे, शनिबार, पुस ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्