छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान
काठमाडौं, पुस ३ : काठमाडौं महानगरपालिका–१७ मा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ। दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीको संस्था युनाइटेड...
काठमाडौं, पुस ३ : काठमाडौं महानगरपालिका–१७ मा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ। दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीको संस्था युनाइटेड नेवाः, आइओएनलगायत दर्जनबढी संस्था तथा व्यक्तिको सहयोगमा चिकित्सालयमा दैनिक १०० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।
अक्सिन प्लान्टको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्। रु. १ करोड ४५ लाखको लागतमा अक्सिजन प्लान्ट जडान गरिएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा मन्त्री भुसालले अक्सिजन प्लान्टको जडानले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। चिकित्सालयले सहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने उनले जानकारी दिइन्।
मन्त्री भुसालले यही मङ्सिर १ गतेदेखि देशैभरिका गरिब जनताका लागि विद्युत् महसुल घटाइएको जानकारी दिइन्। गरिबलाई विद्युत् निःशुल्क उपलब्ध गराउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको प्रष्ट पारिन्।
काठमाडौं–१७ का अध्यक्ष नवीन मानन्धरले अस्पतालले २०७२ सालको भुकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको उल्लेख गर्दै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताए।
चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैँ अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने बताए।
चिकित्सालयले यही पुस १ गतेदेखि शनिबारका दिनमा समेत बहिरंग सेवा (ओपिडी) सेवा सञ्चालन गर्न सुरु गरिएको जानकारी दिएको छ। अस्पतालले सामान्य शल्यक्रियासमेत गर्दै आएकोमा अब विशेष प्रकारको शल्यक्रिया सेवासमेत थप गर्दै अघि बढ्ने तयारी गरिरहेको छ।












