Kathmandu Press

मर्यादित वैदेशिक रोजगारीमा जिफन्टको जोड

मर्यादित वैदेशिक रोजगारीमा जिफन्टको जोड

काठमाडाैं, पुस २ : नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारसँग अनुरोध गरेको छ। अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२१ को सन्दर्भ पारेर आज आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गरे।

वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिकको अवस्था दयनीय रहेको, श्रमिकले तोकिएको सेवासुविधा नपाएको, कार्यस्थल परिवर्तनको अधिकारलाई प्रत्याभूत नगराइएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन विद्यमान ऐन कानूनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए।

उनले वैदेशिक रोजगारीमा हुने ठगी रोक्नुपर्ने, प्रतिबन्धित कार्य गर्ने म्यानपावर कम्पनीको अनुगमन गर्नुपर्ने तथा वैदेशिक रोजगारमा रहेका श्रमिकका हकहितमा ध्यान दिन सरकारसँग आग्रह गरे। सीपयुक्त जनशक्तिमात्र वैदेशिक रोजगारीमा पठाउनुपर्नेमा जोड दिँदै उनले विदेशबाट फर्केका श्रमिकको सीप र पूँजीको प्रयोग गरी उनीहरुलाई स्वदेशमै उद्यमशील बनाउनुपर्ने बताए।

अझै पनि वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक अदक्ष रहेको छन्। सीप तथा तालिम नलिइ वैदेशिक रोजगारीमा जाँदा श्रमिकले तोकिएअनुसारको काम र पारिश्रमिक नपाउने, न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता खेप्दै आएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको भए पनि ८० हजार ३८२ जनाले अदक्ष श्रमिकका रुपमा काम गर्न स्वीकृति लिएको जिफन्टले जनाएको छ।

प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्