११ वर्षीय रमितको नारा छ- कुलतबाट बचौँ, अमूल्य जीवन खेर नफालौँ, सिर्जनशील बनौँ
‘साइकलयात्रीको फोटो देख्दा मलाई पनि यात्रा गर्ने रहर लाग्थ्यो । मेरो मेची–महाकाली यात्रा गर्ने लक्ष्य पूरा भएको छ । हिम्मत राख्यो भने हरेक कुरा गर्न सकिने रहेछ। उमेरले कुनै फरक पार्दैन।’काठमाडाैं, पुस २ : ११ वर्षीय रमित भट्टले ११ दिन लगाएर मेची-महाकाली साइकलयात्रा गरे । उनले साइकलको अगाडि नारा लेखेका थिए- ‘स्वास्थ्य, पर्यावरण र पर्यटनका निम्ति साइकल । कुलतबाट बचौँ, अमूल्य जीवन खेर नफालौँ, सिर्जनशील बनौँ।’
मंसिर ४ गते दिउँसो मेचीपुलदेखि सुरु भएको उनको साइकलयात्रा १५ मंसिरमा महाकाली पुगेर टुंगियो, यो यात्रा एक हजार २४ किलोमिटरको थियो । रमितका सहयात्री थिए, दीपक भट्ट (रमितका पिता) । सुरुमा उनीहरू बाबुछोरा मात्रै यात्रामा निस्किएका थिए, हेटौंडाबाट उनीहरूका सहयात्री बन्न पुगे, विवेक लामा । दीपक जागिरका सिलसिलामा कुनै समय हेटौँडामा बसेका थिए, त्यतिबेला उनको लामासँग चिनजान भएको थियो । दीपक पहिला पनि विवेकसँग साइकल यात्रामा जाने गर्थे । यही सम्बन्धले हेटौंडा पुगेपछि विवेक उनीहरूको यात्रामा जोडिए ।
यति लामो यात्रा गर्दा ११ वर्षीय रमित थाकेनन् ? ‘रमितले सानैदेखि साइकल चलाउँथ्यो । साइकल चलाउने रहर गरेकाले उसलाई सानैमा साइकल किनिदिएको थिएँ,’ दीपक भन्छन्, ‘साइकल चलाउन पाउँदा बच्चामा पनि ऊ निकै खुसी हुन्थ्यो ।’
दीपकका अनुसार, रमित अहिलेसम्मकै कान्छो साइकलयात्री बनेका छन्, मेची-महाकाली साइकल यात्रा गर्ने । दीपक नेपाली सेनाबाट गत कात्तिकदेखि सेवा निवृत्त भएका हुन् । उनी लामो समयदेखि विभिन्न क्षेत्रमा साइकल यात्रा गरिरहेका छन्।
कोभिडको महामारीबाट थला परेको साइकल यात्रालाई चलायमान बनाउन गत वर्ष केही साइकल यात्रीले सामूहिक रूपमा मेची-महाकाली साइकल यात्रा गरेका थिए।
यसरी आफ्नो बुवाले मेची-महाकाली साइकल यात्रा गरेको देखेरै रमितले पनि अठोट गरे, दीपकले छोराको अठोटमा आँट दिए।
‘उसले सानै उमेरमा साइकलयात्रा गर्न सक्छु भनी हिम्मत देखायो, मैले रोक्न सकिनँ,’ दीपक भन्छन्, ‘सानो उमेरमा सकारात्मक सोच आएको देखेर खुसी छु।’
अन्य बालबालिका मोबाइल चलाउन तथा अन्य खेलकुदमा रुचि राख्छन् तर रमितले सकारात्मक सन्देश दिन चाहेकामा उनी खुसी व्यक्त गर्छन्।
रमित धेरै अगाडिदेखि नै साइकल यात्रा गर्न चाहन्थे । दीपक भन्छन्, ‘त्यसैले उसलाई सुरुमा केही छोटो दूरीको साइकल यात्रा गराएको थिएँ । उचित समय पर्खिरहेका थियौँ । त्यो मंसिर ४ गते मिल्यो र यात्रा सुरु गरौँ।’
उनले बीच बाटोमा छोरालाई केही समस्या आए केही समयलाई साइकल यात्रा रोक्ने सोचेका थिए । तर, रमितको हिम्मतले साइकलयात्रा सहजै टुंगिएको दीपक बताउँछन् । रमित भन्छन्, ‘पहिलो दिन अलि गाह्रो महसुस भएको थियो । त्यसपछि त बानी पर्यो, रमाइलोमैै यात्रा सकियो।’
यात्राको बीचबीचमा अन्य साइकल यात्रीले सहयोग गरेका कारण रमाइलो भएको र आँट आएको रमित बताउँछन् । मेची-महाकाली साइकलयात्रा गर्नेलाई बीच-बीचमा रहेका साइकल क्लबले सहयोग गर्छन् । साइकल यात्रीलाई समस्या नहोस् भनी साइकल क्लबले विगतदेखि नै सहयोग गर्दै आएका छन्।
रमितको टोलीले पहिलो दिन झापाको दमक, दोस्रो दिन कञ्चनपुर, तेस्रो दिन निजगढ बारा, चौथो दिन हेटौँडा, पाँचौँ दिन गैँडाकोट नवलपरासी, छैटौं दिन कपिलवस्तु, आठौँ दिन दाङ, नवौं दिन नेपालगन्ज बाँके, दशौं दिन लमकी कैलालीमा बास बसे । ११ दिनमा कञ्चनपुर दोधार चाँदनी झोलुंगे पुल पुगे । ‘दिनभर सँगै साइकलयात्रा गर्ने सहयोगीले साँझ बस्ने व्यवस्था गरिदिएको स्थानमा बास बसेका हौँ,’ दीपक भन्छन्, ‘महाधिवेशनका कारण चितवनको साइकल क्लब भने भेटिएन । त्यहाँ आफैँले खर्च गरेर होटेलमा बास बस्यौँ।’
साइकलयात्रा गर्दा औषधि, मास्क, लत्ताकपडा आदि सुरक्षा सामग्री आवश्यक पर्छ । त्यस्तै, राष्ट्रिय भावना वा उद्देश्यको संकेतमा नेपालको झन्डा पनि फर्फराइन्छ।
नारा र लक्ष्य
अधिकांश साइकल यात्रीको साझा नारा ‘स्वास्थ्य पर्यावरण र पर्यटनका निम्ति साइकल’ हुने दीपक बताउँछन् । इन्धनवाला गाडीले कार्बन उत्सर्जन गरी वातावरणीय प्रदूषण बढाउँछ । यसबारे विश्वस्तरमा बहस भइरहेको छ । दीपक भन्छन्, ‘हाम्रो उद्देश्य पनि त्यही हो कि सबैले साइकललाई प्राथमिकता दिऊँ।’
रमितले यसबाहेक पनि अर्को नारा थपेका छन्– कुलतबाट बचौँ, अमूल्य जीवन खेर नफालौँ, सिर्जनशील बनौँ।
यो नारा भने बालबालिकाको सचेतनाका लागि दीपकले बनाएका हुन् । ‘छोराले बालबालिकालाई सकारात्मक सन्देश दिने नारा बनाउन भन्यो,’ दीपक भन्छन्, ‘त्यसैले मैले यो नारा थपिदिएको हुँ।’
सकारात्मक सन्देश दिने नारासहित आफ्नो यात्रा पूरा भएकामा रमित खुसी छन् । ‘साइकलयात्रीको फोटो देख्दा मलाई पनि यात्रा गर्ने रहर लाग्थ्यो,’ रमित भन्छन्, ‘मेरो मेची महाकाली यात्रा गर्ने लक्ष्य पूरा भएको छ, हिम्मत राख्यो भने हरेक कुरा गर्न सकिने रहेछ । उमेरले कुनै फरक पार्दैन।’
रमितको घर कञ्चनपुरको बेलौरी नगरपालिका– ६ भुराकोटमा पर्छ । अहिले उनी बेलौरीस्थित वात्सल्य विद्या निकेतनमा कक्षा-६ मा पढ्छन्।
छोराले सानै उमेरमा मेची–महाकाली साइकल यात्रा गरेको देखेर दीपक पनि खुसी छन् । सैनिक पेसाबाट निवृत्त भएकाले होला उनी राष्ट्रिय भावनाले ओतप्रोत भई भन्छन्, ‘११ वर्षका बालक साइकलको चेनले देश जोड्दै साहसिक साइकल यात्रामा निस्किनु समाजका लागि एउटा उदाहरणीय काम हो।’