वाणिज्य महासंघको अध्यक्षमा प्रत्यक्ष चुनाव गराउने प्रस्ताव
काठमाडौं, पुस २ : नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ।महासंघको नयाँ कार्यसमितिको पहिलो...
काठमाडौं, पुस २ : नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ।
महासंघको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान संशोधनका लागि महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले महासंघ अध्यक्ष शेखर गोल्छालाई मस्यौदा हस्तान्तरण गरेको छ।
समितिले बुझाएको मस्यौदामा महासंघका अध्यक्षमा प्रत्यक्ष मतदान गरी वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव समावेश गरिएको छ। यस्तै समितिले महासंघ अध्यक्षको कार्यकालसमेत तीन वर्षबाट घटाएर दुई वर्षमा झार्नुपर्ने सुझाव दिएको छ।
समितिले बुझाएको मस्यौदामा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्ने व्यवस्था राखिएको मस्यौदा समितिका संयोजक कुशकुमार जोशीले जानकारी दिए। त्यस्तै, मस्यौदामा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिइएको छ।
ढकालपछि महासंघको अध्यक्ष हुने व्यक्तिले भने प्रत्यक्ष निर्वाचन लड्नु पर्नेछ। महासङ्घको कार्यसमिति सदस्य भएको अवधिका आधारमा उपाध्यक्षको वरिष्ठताक्रम तय हुने विधानमा समावेश गरिएको छ।
यस्तै महासङ्घको उपाध्यक्षमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको संयोजक जोशीले जानकारी दिए। महिला उपाध्यक्ष पदका लागि कार्यसमिति सदस्यले मतदान गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तै महासङ्घका सबै विधाको कार्यसमितिमा महिला सदस्य अनिवार्य गरिएको छ। (रासस)












