Kathmandu Press

देउवालाई विश्वास र ऐतिहासिक जिम्मेवारी

इतिहासले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न,संविधानवादका मूल्य–मान्यता स्थापित गर्न तथा मुलुकको स्वाभिमान र सुरक्षाजस्ता विषयमा कसैसँग सम्झौता नगर्न देउवाको काँधमा थप जिम्मेवारी प्रदान गरेको छ ।
देउवालाई विश्वास र ऐतिहासिक जिम्मेवारी

नेपाली कांग्रेसको १४औं महाधिवेशनले नेपाली कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन्। लगातार दोस्रोपटक नेपाली कांग्रेसको सभापति निर्वाचित हुने कोइराला परिवार बाहेकको पहिलो व्यक्ति बन्ने इतिहाससमेत देउवाले रचेका छन्। देश, जनता र लोकतन्त्रका निम्ति इमानदारीपूर्वक अथक रूपमा गरेको संघर्ष र पार्टीभित्र सबैलाई मिलाएर लैजान सक्ने विशेष खुबी नै यो सफलताको प्रमुख कारक हो।

खासगरी कांग्रेस नेतृत्वमा देउवाको दोस्रोपल्टको उपस्थिति आम नेता कार्यकर्ताको विश्वास र भरोसाकै उपज थियो। हुन त देउवालाई नेतृत्वमा रोक्नका लागि नियोजित रूपमा रिस, डाह र कुण्ठाग्रस्त आरोप थोपर्ने प्रयास भएकै हुन्। महाधिवेशनको मुखैमा देउवालाई नेतृत्वमा स्थापित हुन नदिन भए–गरेका प्रयास, अनर्गल प्रचार र भ्रमलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले मतदानमार्फत गतिलो जवाफ दिएका छन्। दोस्रो कार्यकालका लागि अत्यधिक मतका साथ विजयी बनाउन कांग्रेस नेता कार्यकर्ताले खेलेको भूमिका यसैको ज्वलन्त उदाहरण हो।

एकोहोरो रूपले हात धोएर उत्रेका स्वनामधारी रैथानेविरोधी मतपरिणामसँगै सूर्यका अघि जुनकीरीको धिपधिप हुन पुगेका छन्। तथापि आलोचना, विरोध र अपजसलाई देउवाले सदैव व्यक्तिगत स्वतन्त्रताको रूपमा सम्मान गर्दै आएका हुन्। कसैका प्रति पनि सामान्य पूर्वाग्रहसम्म नराख्ने देउवाको विशिष्ट स्वभाव नै हो। लोकतन्त्रमा विरोधको पनि ‘स्पेस’ हुनुपर्छ भन्ने मान्यतामा उनी सधैं अडिग रहे। यसैको परिणामस्वरूप देउवाले कांग्रेसजस्तो मुलुकको ऐतिहासिक एवं अगुवा लोकतान्त्रिक पार्टीको नेतृत्वका लागि दोस्रोपल्ट जितको तक्मा पाएका हुन्।

Hardik ivf

मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको सभापति निर्वाचित भएसँगै देउवा अझै एकदशक नेपाली राजनीतिको मियोका रूपमा रहने पक्का भएको छ। देउवाको जितसँगै मुलुकभित्र मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत नयाँ तरंग उत्पन्न भएको छ। अन्तर्राष्ट्रिय समुदाय तथा विभिन्न दलका शीर्ष नेताहरू र कांग्रेसकै नेता कार्यकर्ताबाट प्राप्त भएका बधाई, शुभकामना सन्देश एवं शुभेच्छाबाट यो मर्म र भावना स्पष्ट झल्केको देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतले दिएको बधाई र शुभकामनामा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत बनाउन प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउने वातावरण तयार गर्न र अग्रगमनकारी शक्तिबीचको एकताका पक्षमा उभिन देउवाको नेतृत्वले सफलता पाउने अपेक्षा छ। एमालेका युवा नेता प्रदीप ज्ञवाली र योगेश भट्टराईले पनि देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएकामा बधाई दिए। तीनजना पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेताबाट समेत प्राप्त बधाईले देउवालाई देश जनता र लोकतन्त्रको पक्षमा काम गर्न थप ऊर्जा प्राप्त हुनेछ।

आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा, सुशासन र एकताबद्ध कांग्रेस देउवाको नेतृत्वबाट प्राप्त हुने अपेक्षा गरेका छन्। गृहमन्त्री बालकृण्ण खाँडले सबैलाई मिलाएर लैजान सक्ने विशेष खुबी देउवामा रहेको बताएका छन्। यता युवा नेता गगन थापाले पनि पार्टी रूपान्तरण र समुन्नत नेपाल निर्माणमा सहकार्य गर्ने भन्दै सहयोगको हात दिएका छन्। लोकतन्त्र मानव अधिकार र निष्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा रहेको भन्दै अमेरिकी दूतावासबाट प्राप्त बधाई सन्देशबाट समेत देउवाप्रतिको राष्ट्रिय र अन्तर्राष्ट्रिय सद्भाव र अपेक्षा स्पष्ट हुन्छ। सबैको आशीर्वाद नवनिर्वाचित कांग्रेस सभापतिका लागि ठूलो पुँजी हो।

समकालीन नेपाली राजनीतिमा क्रियाशील नेतामध्ये सबैभन्दा अनुभवले खारिएका देउवा कांग्रेस सभापतिमा पुनः निर्वाचित हुनु नेपालको लोकतन्त्रको भविष्यका लागि सुखद कुरा हो। इतिहासले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न, शक्ति पृथकीकरण र संविधानवादका मूल्य–मान्यता स्थापित गर्न तथा मुलुकको स्वाभिमान र सुरक्षाजस्ता विषयमा कसैसँग सम्झौता नगर्न देउवाको काँधमा थप जिम्मेवारी प्रदान गरेको छ। अनुभव, परिपक्वता र वर्तमानकोे आवश्यकता आदि कोणबाट हेर्दा देउवा अब्बल साबित हुने अपेक्षा गर्न सकिन्छ।

राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझेका देउवाको काँधमा कांग्रेसलाई मात्र होइन, सिंगो देशलाई नै एकताबद्ध बनाउँदै इतिहास रच्ने महŒवपूर्ण सुअवसर प्राप्त भएको छ। वर्तमान गठबन्धन सरकारलाई नेतृत्व गर्दै भयरहित वातावरणमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने गहन अभिभारा पूरा गर्न बाँकी नै छ। धेरै लामो संघर्ष र बलिदानपछि जनताका प्रतिनिधिले बनाएको संविधानलाई समाप्त पार्ने र नेपाललाई अस्थिर राजनीतिको भुमरीमा फसाएर विभिन्न स्वार्थ पूरा गर्ने षड्यन्त्रविरुद्ध लोकतन्त्रका हिमायती देउवा पहाडझैं उभिने विश्वास आम कांग्रेसजनमा छ।

समावेशी र समानुपातिकका पक्षधर देउवाले समावेशीकरणको विषयलाई बिपी कोइरालापछि विगतमा जबर्जस्त उठान गर्ने र लागू गराउने युगान्तकारी भूमिका खेलेका छन्। महिला, दलित, आदिवासी, अनि मधेसी समुदायले आज थुप्रै अधिकार प्राप्त गरेका छन्। वास्तवमा देउवा राष्ट्रिय राजनीतिमा आफ्नै बलबुताले उदाएका जननेता हुन्। २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका देउवा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य बन्दै सभापति बनेका थिए। पञ्चायतविरोधी राजनीति गर्दा देउवा नौ वर्षसम्म जेलका कालकोठरीमा बसेका थिए। २०४६ को जनआन्दोलनपछि सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनीतिक प्रमुखको भूमिकामा रहेर देउवाले संगठन निर्माणमा महŒवपूर्ण काम गरेका छन्। २०४८ सालमा डलेल्धुराबाट सांसद बनेर गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा तीन वर्ष गृहमन्त्री र २०५१ सालको मध्यावधि निर्वाचनपछि संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बनेर काम गरेको अनुभव देउवासँग छ।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बन्ने अवसर देउवाले प्राप्त गरेका थिए। देउवा सधैँ संकटको समयमा देशको बागडोर सम्हाल्ने नेता हुन्। कांग्रेसभित्रैको एउटा अभिजात वर्गले जस दिने त कुरै छाडौं भए–गरेका राम्रा कामको समेत सदा अवमूल्यन गरिरह्यो। जस नपाउने तर अरुका कारण सिर्जित अपजसको भारी भने सधैं बोकेर हिँडिरहनुपर्ने नियतिले देउवालाई पछ्याइरह्यो। तर विरोधी सामु देउवाले न घुँडा टेके, न त प्रतिवादमा समय खर्चिए। आफ्नो मिसनमा एकोहोरो ढंगले लागिरहे। त्यही आफ्नो कामप्रतिको लगाव, अठोट अनि निरन्तरताले नै उनलाई फेरि अर्कोपल्ट कांग्रेस नेतृत्वमा स्थापित ग¥यो।

सुदूरपश्चिमको विकट भूगोलमा जन्मेर पनि अनेक हन्डर, ठक्कर खाँदै आजको स्थितिसम्म आइपुगेका देउवा कुनै विरासत र कसैको आशीर्वादविनै आफ्नै धरातलमा उभिन सफल बनेका हुन्। पाँचपटक प्रधानमन्त्री बन्न सफल उनी आफैँमा एउटा संस्था बनिसकेका छन्। अब उनीमा व्यक्तिगत स्वार्थ र लोभलालचको कुनै गुञ्जायस छैन। बरु परिस्थितिले फेरि देउवालाई कांग्रेसको मजबुतीकरण र मुलुकको समृद्धिका लागि होनहार युवाको ऊर्जा लिएर अझै खरो रूपमा अघि बढ्न महान् जिम्मेवारीको भारी बोकाएको छ। सबै पक्षलाई सन्तुलनमा राखेर मुलुकको समुन्नतिका लागि काम गर्न देउवालाई सफलता मिल्ने छ भन्ने विश्वास गरौं।

प्रकाशित मिति: ११:०१ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्