मेलम्ची खानेपानी आयोजनास्थलसम्म खोलियो सडक
काठमाडौं, मंसिर २९ : मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउन आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय...
काठमाडौं, मंसिर २९ : मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउन आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायीरूपमा मर्मत गरेको हो।
अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायीरूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ। अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्न सक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार तत्काल अस्थायी रूपमा पानी चलाउन सडक निर्माण गरिएको हो। अहिले निर्माण भएका सडक र पुल दुवै तत्कालका लागि र अस्थायी प्रकृतिको भएको उनले बताए। उनले भने, ‘अहिले भर्खर आयोजनाका संरचना मर्मत गरेर सञ्चालन गर्न मात्रै सडक खोलिएको हो।’
आयोजनाका लागि र स्थानीयवासीका लागि पनि सडक दीर्घकालीन रुपमा निर्माण गर्न आवश्यक छ। आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रबाट पहिरोको जोखिम रहेकाले त्यसको अध्ययन भइरहेको छ। आयोजनामा सहयोग गरेको दातृ संस्था एशियाली विकास बैंकले खानेपानी मन्त्रालयसँगको समन्वयमा अध्ययन गरिरहेको छ। अध्ययनका प्रतिवेदन आएपछि त्यसकै आधारमा दीर्घकालीन रुपमा सडक र पुल निर्माणमा जानुपर्ने उहाँको भनाइ छ। उनले भने, ‘माथिल्लो क्षेत्रको अध्ययन सकिएपछि हामीले अर्को वर्षा पहिले नै स्थायी निर्माणमा जानुपर्छ।’
अध्ययन प्रतिवेदन आएपछि त्यसैका आधारमा कति माथिबाट सडक र पुल निर्माण गर्न आवश्यक छ भनी टुंगो लाग्ने सूचना अधिकारी पन्तले बताए। दातृ निकायको अध्ययन टोलीले गरेको अध्ययनमा आगामी वर्ष पनि बाढी आउन सक्ने देखिएको छ। अध्ययनको अन्तिम प्रतिवेदनका आधारमा मात्रै स्थायी संरचनाका निर्माणको योजना बनाउन सकिने उनले बताए। उनले भने, ‘अहिले तत्काल हामीले आयोजनाका लागि ठूलो खर्च नगरेर अस्थायी रूपबाट पानी ल्याउन काम गरेका छौं।’
सो सडक आयोजनास्थलमा पुग्नका लागि मात्रै नभएर स्थानीयबासीका लागि पनि आवश्यक छ। गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सडकमा क्षति पुगेको थियो। कतिपय ठाउँमा नदीले सडक नै कटान गरेकाले मर्मतमा लामो समय लागेको थियो। मंसिरको पहिलो साता आएको बाढीले थप क्षति पुर्याएको सडक तत्कालका लागि खुलाइएको छ।












