Kathmandu Press

सुदूरपश्चिममा ४२ प्रतिशतले लगाए पूर्ण खोप 

सुदूरपश्चिम, मंसिर २९ :  सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप...
सुदूरपश्चिममा ४२ प्रतिशतले लगाए पूर्ण खोप 

सुदूरपश्चिम, मंसिर २९ :  सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् ।

लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात नौ लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसङ्ख्या झण्डै १९ लाख छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकोले खोप दिने कार्य नियमित रुपमा चलिरहेको बताए। प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडना खोप दिने तयारी पनि गरिएको छ। 

Hardik ivf

प्रवक्ता कार्कीले भने, ‘आउने पुस महिनाबाट कैलाली र डडेलधुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडना खोप दिने तयारी छ ।’ पछिल्लो महिनामा विभिन्न राजनीतिक दलबाट भीड बढ्ने गरी भइरहेका गतिविधिबाट कोरोना सङ्क्रमणको जोखिम बढेको मन्त्रालयका अधिकारीको भनाइ छ।
    
उनले भने, ‘‘कोरोनाको जोखिम नहटिसकेको भए पनि दल आफैँले भीडभाड गरेर कोरोनाको जोखिम निम्त्याइरहेका छन् ।’ कोरोनाको नयाँ रुप ‘ओमिक्रोन’ को सम्भावित जोखिमको रोकथामका लागि सीमा नाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको छ। सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतिजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । 

प्रदेशका कुनै पनि सीमा नाकाबाट भित्रिने नागरिकमा अहिलेसम्म नयाँ भेरिएन्टको कोरोना सङ्क्रमण भएको पुष्टि भएको पाइएको छैन। सीमा नाका नजिक धनगढीको बडहरा क्षेत्रमा कोरोनाका शङ्कास्पद बिरामीलाई राख्न निर्माणाधीन होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सङ्क्रमित भएर उपचार व्यवस्थापनपछि घर फर्र्र्किएका कतिपय व्यक्तिको स्वास्थ्यमा विभिन्न खालको स्वास्थ्य जटिलता भने देखिने गरेको छ।

रिङ्गटा लाग्ने, कमजोरी महसुस हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेको सङ्क्रमणपछि निको हुनु भएका धनगढीका एक जना शिक्षकले बताए। कसै कसैलाई श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । उनले भने, ‘‘उपचार व्यवस्थापनपछि घर फर्किएकामा व्यक्तिअनुसार फरक स्वास्थ्य जटिलता देखिने गरेको छ।’

रोगको सङ्क्रमणपछि भएको हैरानीले मानसिक तनाव सिर्जना हुँदा पनि सम्बन्धित व्यक्तिमा रिङ्गटा लाग्ने, शरीरका अङ्ग दुख्ने, कमजोरी महसुस हुने समस्या देखिने गरेको छ। हाल सङ्क्रमण र मृत्यु हुने दर केही घटेको देखिएपनि यो रोगको सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ । 
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार आजसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ को १६ दशमलब ३८ प्रतिशत हो। नमूना परीक्षण गरिएका मध्ये ११ दशमलब पाँच प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

तराईका कैलाली र कञ्चनपुर जिल्ला यो रोगको सङ्क्रमणबाट बढी प्रभावित भएका छन् । यो रोगको सङ्क्रमण फैलिएयता हालसम्म ६१२ जनाको मृत्यु भएको छ। गएको वैशाख जेठ महिनामा यो रोगको सङ्क्रमण र मृत्यु दर उच्च थियो। असार महिना सुरु भएसँगै केही घटेको थियो।  

यसैबीच सामाजिक विकास मन्त्रालयले भीडभाड हुने कार्यक्रम नगर्न, मास्क सही तरिकाले प्रयोग गर्न, पटकपटक साबुनपानीले हात धुन, सङ्क्रमित क्षेत्रबाट आएकालाई कम्तीमा पनि १० दिनसम्म क्वारेन्टिनमा बस्न र कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ। 

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्