Kathmandu Press

दुई सय २७ बालबालिकाको सामुहिक चिहान भेटियो

लिमा, भदौ ११ : दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले दुई सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्। कोलम्बियाली चिमु संस्कृत....

दुई सय २७ बालबालिकाको सामुहिक चिहान भेटियो
एजेन्सी

लिमा, भदौ ११ : दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले दुई सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्। कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो।

राजधानी लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो। पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम सुरू गरेका थिए। हुआनचाकोमा प्रागऐतिहासिक कालका अनौठा चालचलनका भग्नावशेष पाइन्छन्।

यो स्थानमा बालबालिकाको बली दिने पुरानो चलन रहेको किंवदन्तीमा पढ्न पाइन्छ। ‘यो ठाउँमा बली चढाइएका बालबालिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक चिहान भेटिएको हो,’ प्रमुख पुरातत्वविद फारेन क्यास्टिल्लोले भने।

Hardik ivf

क्यास्टिल्लोले चारदेखि १४ वर्ष उमेरका यी बालबालिकालाई चिमु संस्कृतिका देवता खुशी पार्न बली चढाइएको बताए। उनले अझै पनि यस्ता चिहान भेटिन सक्ने बताए। ‘यो हृदयविदारक छ, बालबालिकामाथि यतिसम्मको अन्याय। जहाँ खन्यो, त्यहाँ बच्चाका अवशेष पाइन्छ,’ क्यास्टिल्लोले भने।

यी बच्चाका शरीर सबैजसो समुद्रतर्फ फर्किएको अवस्थामा भेटिएका छन्। कतिपयको त अझै पनि छाला र कपाल भेटिएको छ।

हुआनचाकोमा चिमु सांस्कृतिक कालमा धेरै बालबालिकालाई बली चढाइएको थियो। यो कालखण्ड सन् १२०० देखि १४०० रहेको थियो।

पुरातत्वविदहरुले पहिलो बच्चाको अवशेष पाम्पा ला क्रुज शहरमा सन् २०१८ मा भेटेका थिए। पाम्पा ला क्रुज हुआनचाकिटोबाट नजिकमा पर्छ। हुआनचा

किटोमा पनि बली चढाइएका एक सय ४० जना बालबालिकाको अवशेष अप्रिल २०१८ मा फेला परेको थियो।

चिमु सभ्यता पेरुको तटीय इलाकादेखि इक्वेडरसम्म फैलिएको थियो, तर इन्काहरुले परास्त गरेपछि चिमु सभ्यता सन् १४७५ मा पतन भएको थियो।  (एएफपी)

प्रकाशित मिति: १३:४० बजे, बुधबार, भदौ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्