Kathmandu Press

राजश्व चुहावट गर्ने व्यक्तिलाई जेल हाल्नुपर्छः अर्थमन्त्री

काठमाडौं, भदौ १० : अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन्।
   ....

राजश्व चुहावट गर्ने व्यक्तिलाई जेल हाल्नुपर्छः अर्थमन्त्री

काठमाडौं, भदौ १० : अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन्।
    
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय पनि अनिवार्य गर्नुपर्ने बताएका हुन्।

मन्त्री खतिवडाले राजश्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुँदा यस्तो कामलाई दुरुत्साहन हुने गरी नै एक दिन भएपनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको बताए।

बैठकमा पूर्व अर्थमन्त्रीहरुले भने राजश्व चुहावट सम्बन्धी कसुरको दण्ड तथा जरिवानामा फरक फरक धारणा राखेका थिए। पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा भएको दण्ड सजायको व्यवस्थाले उद्योगी व्यवसायी आतंकित भएको भन्दै जरिवाना र जेललाई जोड दिनु भन्दा राजश्व अशुलीलाई प्राथमिकता दिने गरी विधेयकमा व्यवस्था गरिनु पर्ने बताए।

बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राजश्वको ठूलो अपचलन गरेका व्यक्ति जेल बसेर उम्कन सक्ने अवस्था आउन नदिन पनि सचेत हुनुपर्ने बताए। उनले कसुर अनुसार व्यक्तिलाई जेल र आर्थिक रुपमा दण्डित गर्न सकिने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजश्व चुहावट र अपचल उद्योगी मात्रैले गर्न नसक्ने भन्दै यस्तो कसुरमा कर्मचारी र राजनीतिक नेतृत्व समेत संलग्न हुने भएकाले तीनै पक्ष दण्डित हुनेगरी कानूनी व्यवस्था गर्नु पर्नेमा जोड दिए।

अर्थ समितिको छलफलमा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको व्यवस्थामा व्यवसायीहरुले पनि असन्तुष्टि जनाइरहेका छन्। यसबारे व्यवसायीहरुले अर्थमन्त्री खतिवडालाई भेटेर ध्यानाकर्षण समेत गराइसकेका छन्।

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, भदौ १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्